फक्ताङलुङ गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना

वेलकम खबर
भदौ १, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशुपक्षी अनुसन्धान केन्द्र स्थापना गरेको छ । परम्परागत कृषि उत्पादनबाट आधुनिक कृषि उत्पादनतर्फ पालिकावासीलाई उन्मुख गराउँदै जीविकोपार्जन गर्ने गतिलो माध्यम बनाउने लक्ष्यसहित गाउँपालिकाले केन्द्रको स्थापना गरेको हो । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले रासायनिक मल तथा विषादीको प्रयोगले माटोको उर्वर शक्ति दिनानुदिन ह्रास हुनुका साथै उत्पादकत्व बढाउन अत्यधिक रासायनिक मलको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । यसले नागरिकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरेको भन्दै प्राकृतिक वस्तुहरूको उपयोग गर्दै जैविक मल तथा प्राङ्गारिक मलको विकास गर्दै रासायनिक मललाई विस्थापित गर्ने लक्ष्यसमेत लिएर अनुसन्धान केन्द्रको स्थापना गरेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन तेम्बेले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पाँच वर्षभित्र अर्गानिक गाउँपालिका घोषणा गर्दै समग्र नागरिकको आर्थिक उन्नति–प्रगति गर्ने उद्देश्य रहेको बताए । नागरिकको क्रयशक्ति बढाउनुका साथै आय–आर्जनको पाटोलाई सुव्यवस्थित गर्न पालिकाले जग्गा लिजमा लिएर अनुसन्धान केन्द्रको स्थापन गरी काम सुरु गरेको हो । आय–आर्जन बढाउन अहिले कृषि तथा पशु व्यवसायबाट नागरिकलाई स्वास्थ्यकर आहारा साथै आर्थिक स्थितिमा सुधार ल्याउन अनुसन्धान साथै उत्पादनका लागि नमुनाका रूपमा कृषि तथा पशुपक्षी अनुसन्धान केन्द्रका रूपमा स्थापना गरिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

अनुसन्धानका लागि सेवालुङ माध्यमिक विद्यालयको स्वामित्वमा रहेको वडा नम्बर ५ छिरुवाकोे १० रोपनी जग्गा लिजमा लिएर विभिन्न किसिमका पशुपक्षी तथा तरकारी खेती सुरु गरिएको छ । करिब ३० लाख रुपैयाँको लगानीमा उन्नत जातका गाई तीनवटा, बाच्छो एउटा, मिक्स बोयर जातका बाख्रा ११ वटा र बोका एउटा, उन्नत जातका बंगुर पाँचवटा, अर्गानिक तरकारीका लागि १५ वटा टनेलमा विभिन्न कासिमका तरकारी उत्पादन गर्न सुरु गरेको अध्यक्ष लिम्बूले बताए । अहिले कृषि केन्द्रमा तीनजना कर्मचारी रहेको तथा प्रविधिक तथा आर्थिक सहयोग भने गाउँपालिका र हिमालयन एग्रोइको प्रालि इलामको प्राविधिक सहयोग रहेको छ ।

अध्यक्ष लिम्बूले छुट्टै भवन निर्माण गरी जैविक झोल मल तथा ढुसिमल उत्पादन भइरहेको र चाँडै नै गड्यौला पालन गरी प्रांगारिक मल उत्पादन गर्ने तयारीसमेत रहेको बताए । आगामी दिनमा प्रत्येक वडाहरूमा मिनी अनुसन्धान केन्द्र स्थापना गरी वडाहरूमा सहकारी मोडेलमा सम्भावित कृषि उत्पादन गराउने योजना लिएको उनको भनाइ छ । सो क्षेत्रबाट कृषकहरूले उत्पादन गरेको कृषिउपजलाई गाउँपालिकाले खरिद गर्नेसमेत योजना रहेको छ ।

कार्यकारी अधिकृत तेम्बेले स्थानीय सरकारले उत्पादन क्षेत्रलाई हेरेर वडा नम्बर ३ सिवा बजार र पालिका केन्द्र रहेको तापेथोकमा संकलन केन्द्रहरू स्थापना गर्ने बताए । यी ठाउँहरूमा चिस्यान केन्द्रसमेत स्थापना गरिने उनको भनाइ छ । पालिकामा उत्पादन भएका वस्तुहरू नजिकको केन्द्रमा संकलन गरी कृषिजन्य वस्तु प्रशोधन, रूपान्तरण गरी वितरणका लागि आफ्नै ब्रान्डिङ गरेर बजारमा लाने अध्यक्ष लिम्बूको भनाइ छ ।-nayapatrikadaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*