आँखा पाक्ने समस्याले काठमाडौं उपत्यकाका विद्यालय बन्द

वेलकम खबर
साउन ३०, २०८०

काठमाडौँ । स्थानीय पालिकाले आँखा पाक्ने समस्या बढ्दै गएपछि उपत्यकाका केही विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र १७ सामुदायिक, १ सय ४३ निजी, १० वटा धार्मिक तथा वैकल्पिक विद्यालय छन् ।

लगभग ४० हजार विद्यार्थी रहेको नगरपालिकामा ४० प्रतिशत जति बालबालिकामा आँखा पाक्ने संक्रमण फैलिएको हुँदा स्कुल बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत टेकेन्द्रप्रसाद ढकालले बताए ।

त्यस्तै, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन २९ र ३० गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने रोगको संक्रमण बढेपछि नगरपालिका मातहतका १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द हुने भएका छन् । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टका अनुसार करिब २१ हजार विद्यार्थी संक्रमित हुनबाट जोगाउन विद्यालय दुई दिनका लागि बन्द गर्नुपरेको बताए । हरेक दिन १५ देखि २० जना विद्यार्थी आँखा पाक्ने रोगबाट संक्रमित भएको र शिक्षकसमेत संक्रमित हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख भट्टले जानकारी दिए ।

प्याब्सन मध्यपुर थिमि नगर समितिका अध्यक्ष एवं जनप्रेमी वर्ल्ड स्कुल कौशलटारका प्रिन्सिपल निलेश आचार्यले विद्यालयमा आँखा पाक्ने समस्या ह्वात्तै बढेपछि नगरसमक्ष विद्यालय बन्द गर्न अनुरोध गरेको बताए । आफ्नै विद्यालयमा कक्षा ११ र १२ मा ५८ जना र कक्षा १ देखि १० सम्म ६८ जना आँखा संक्रमणकै कारण अनुपस्थित भएको उनले बताए । ‘शिक्षकसमेत संक्रमित भएपछि स्थिति डरलाग्दो भयो,’ उनले भने, ‘केही दिन विद्यालय बन्द गरेमा संक्रमण नियन्त्रण हुन सक्छ ।’

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा. कमल खड्काका अनुसार पछिल्लो एक सातामा आँखा पाक्ने सरुवा रोगको संक्रमण तीव्र बढेको बताए । एक साताअघि अस्पतालमा एक दिनमा ५० जना संक्रमित उपचारका लागि आउँथे भने अहिले दैनिक १ सय ८० जनाभन्दा बढी आउने गरेको बताए । सरुवा रोग भएकाले सम्पर्कमा आउनेबित्तिकै सर्न सक्ने खतरा हुन्छ ।त्यसैले अस्पतालमा संक्रमितका लागि छुट्टै आँखा क्लिनिक सञ्चालन गर्नुपरेको सुनाए । ‘खास गरी भीडभाडमा संक्रमितले छिट्टै रोग सार्न सक्ने हुन्छ,’ उनी भन्छन्, ‘संक्रमण हुनबाट जोगिन केही समय विद्यालय बन्द गर्नु नै उचित छ ।’-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*