टिप्ताला नाका भदौदेखि खुल्ने

वेलकम खबर
साउन २९, २०८०

तीन वर्षपछि नाका खुल्ने सन्देशले सीमावर्ती क्षेत्रमा उत्साह भन्छन्– ‘यताबाट गलैंचा, घिउ बेच्न पाइएको छैन, उताबाट नुन पनि ल्याउन पाइएको छैन, नाका खुलेपछि सबैलाई सजिलो हुन्छ’

ताप्लेजुङ। काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिए । गाउँलेलाई यसले उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।
वडाध्यक्ष छेतेनलाई राजधानीमै बसेर नाका खुलाउने पहल गर्न गाउँका हरेक अनुरोध गरेका थिए । त्यही चाहना पूरा भएको सुन्दा खुसी भएको प्रतिक्रिया ओलाङचुङगोलाकी डोङगा शेर्पाले दिइन् । ‘यताबाट गलैंचा, घिउ बेच्न पाइएको छैन, उताबाट नुन पनि ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘नाका खुलेपछि धेरै राम्रो हुन्छ, सबैलाई सजिलो हुन्छ ।’

सन् २०१९ मा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका सेप्टेम्बर १० ९भदौ २४० देखि खुल्ने भएको हो । ‘परिचय पत्र र नागरिकता अनिवार्य गरिएकाले त्यसको व्यवस्थापन गर्नुहोला, हाम्रोतर्फबाट सेप्टेम्बर १० देखि नाका खोल्छौं भनेर खबर गरेका छन्,’ छेतेनले कान्तिपुरसँग भने, ‘मलाई डिङ्जे काउन्टीका प्रशासन प्रमुख र प्रहरी प्रमुख दुवैले खबर गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पनि नाका खोल्ने प्रक्रिया सुरु भएको बताइन् ।

ताप्लेजुङ प्रशासन र तिब्बत प्रशासनसँग यसअघिदेखि नै छेतेनले समन्वय गर्दै आएका छन् । गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक गराएका थिए । वालुङका अनुसार सीमावर्ती क्षेत्रकाले सीमा प्रशासन कार्यालयले जारी गरेको परिचयपत्र र नेपाली नागरिकता देखाएर मात्रै चीनको रिउसम्म जान पाउनेछन् । त्यसको व्यवस्थापन गर्न उनीहरूले सूचना दिएको पनि वालुङ बताउँछन् । यो नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकरपटक अनुरोध गरेका थिए । छेतेनका अनुसार टिप्ताला भन्ज्याङबाट मात्रै आउजाउ गर्ने गरी खुलाउने चिनियाँ अधिकारीले बताएका छन् ।

यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो । विशेषगरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमि दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र संखुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमि दूरीमा छ ।

वर्षौंसम्म नाका ठप्प हुँदा व्यापार व्यवसाय ठप्प थियो । नेपालबाट गलैंचा, जडिबुटीलगायत वस्तु निर्यात हुन सकेको छैन भने चीनबाट नुनलगायतका वस्तु ल्याउन सकिएको छैन । सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना संक्रमणपछि नेपालतर्फको सडक पुरै अवरुद्ध छ ।

मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् । नाका खुलेपछि सबैभन्दा पहिला गलैंचा, घिउ, जडीबुटी निर्यात गर्ने डोङ्गाले बताइन् । तिब्बतबाट भनें चौंरीलाई खुवाउने नुन, चामललगायत खाद्य सामग्री ल्याउने स्थानीयको तयारी छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*