सभामुखसहित सत्ता–प्रतिपक्षी शीर्ष नेताको छलफल आज पनि

वेलकम खबर
साउन २३, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको बैठक मंगलबार पनि बस्दै छ।

मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुन लागेको हो।

सुन प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरूद्ध गर्दै आएको छ।साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन निरन्तर अवरूद्ध छ। प्रतिनिधि सभाका तीन वटा बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन्।

अवरूद्ध सदन खुलाउने विषयमा सोमबार पनि सभामुख घिमिरेको पहलमा दुई पटक बैठक बस्यो। तर, निष्कर्ष निस्कन सकेन।‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। सांसदहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधिकतमतह रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ सोमबार सभामुख देवराज घिमिरेले भनेका थिए।

दलहरूको एकता र सहकार्यकै निम्ति आफूले सूचना टाँसेर पटक–पटक बैठक स्थगित गरेको उनले बताएका थिए।‘तर सूचना टाँसेर बैठक रोक्ने नजीर स्थापित गर्ने पक्षमा छैन। आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं,’ उनको हिजोको भनाइ थियो।सोमबारको बैठकमा सरकार पक्षले केही समय मागेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*