ल्यारक्याल लामाको नियुक्तिको विषयलाई लिएर माओवादीभित्र विवाद

वेलकम खबर
साउन २२, २०८०

काठमाडौं । विवादास्पद छवि भएका ल्यारक्याल लामाको नियुक्तिको विषयलाई लिएर माओवादीभित्र विवाद सुरु भएको छ। सरकारले माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना सुरु भएको हो।

पर्यटनमन्त्री सुदन किराँतीको प्रस्तावमा केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उनलाई कोषको उपाध्यक्ष बनाउने निर्णय गरेको हो। लामा दोहोरो नागरिकता मुद्दामा समेत मुछिएका व्यक्ति हुन्।

यसैबीच माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लामाको नियक्तिबारे सार्वजनिक असन्तुष्टि प्रकट गरेका छन्। उनले भनेका छन्, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेको छ।’

आइतबार सकिएको सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समिति बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’घोषणा गरेको थियो। यो अभियान भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ।

कांग्रेस र एमालेबाट लाभ लिइसकेपछि लामा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए। माओवादीले लामालाई २०७१ सालमा समानुपातिक सभासद बनाएको थियो। सुशासन कायम गर्ने भनेर भाषण गर्दै हिँड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद व्यक्ति लामालाई कोषको उपाध्यक्ष बनाएपछि वर्तमान सरकार थप विवादित बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*