सरकारले दुईपटक ग्यासको मूल्य घटायो तर ताप्लेजुङमा एक पटक पनि घटेन

वेलकम खबर
साउन २२, २०८०

काठमाडौं । सरकारले खाना पकाउने ग्यासको मूल्य दुईपटक घटाइसक्दा पनि ताप्लेजुङका व्यापारीले उपभोक्तासँग पुरानै मूल्य असुलिरहेका छन् ।

सरदरमुकाम फुङलिङ बजारका व्यापारीले चर्को मूल्यमै ग्यास बिक्री गरिरहँदा आमउपभोक्ता मारमा परेका छन्। सरकारले ग्यासको मूल्य घटाए पनि अनुगमन नहुँदा व्यापारीकै मनोमानी चलिरहेकाले आफूहरूले कुनै सहुलियत महसुस नगरेको नागरिकको गुनासो छ। फुङलिङ बजारमा व्यापारीहरूले प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य दुई हजार एक सय ५० रुपैयाँसम्म असुलिरहेका छन्।

सरकारले पछिल्लोपटक गत मंगलबार ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ३० रुपैयाँ घटाएको छ। नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६ सय ६० रुपैयाँ कायम भएको छ। त्यसअघि गत असार ३१ गते प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घट्दा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार सात सय ९० रुपैयाँ भएको थियो।

निगमले दुई–दुईपटक ग्यासको मूल्य घटाए पनि ताप्लेजुङका व्यापारीले उपभोक्तासँग चर्को मूल्य असुलेका छन्। ढुवानी खर्च वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको व्यापारी बताउँछन्।

व्यापारीहरूले चर्को मूल्य असुलिरहँदा पनि जिल्ला बजार अनुगमन समिति भने बेखबर छ। समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै जानकारी नदिएको बताउँछन्। नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*