झलनाथले किटान गरे- कम्युनिस्टको वर्ग शत्रु कांग्रेस

वेलकम खबर
साउन २१, २०८०

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेस दलाल पुँजीवादको मुख्य प्रतिनिधि रहेकाले कम्युनिस्ट पार्टीसँग उसको प्रधान अन्तरविरोध रहने बताएका छन्।

एकीकृत समाजवादीको जारी बैठकमा खनालले कांग्रेसलाई वर्गशत्रु किटान गरेका हुन्।समाजवादी मोर्चा बनाउँदा पनि उनले पछिल्लो गठजोडको वर्गशत्रु कोहो भने नेतृत्वलाई प्रश्न गरेका थिए।

शनिबारदेखि जारी स्थायी कमिटीमा भिन्न दृष्टिकोण राख्दै कांग्रेसलाई वर्गशत्रु ठम्याएर अघि बढ्नुपर्ने निचोड सुनाएका हुन्।‘कुनै पनि देश वा वर्गीय समाजमा क्रान्तिलाई अघि बढाउन प्रधान वर्गीय अन्तरविरोध पत्ता लगाएर मात्र पुग्दैन, त्यसबेलाको प्रधान राजनीतिक अन्तर्विरोध पत्ता लगाउनै पर्छ, त्यो पत्ता नलगाएसम्म हाम्रो क्रान्तिकारी संघर्ष निशानाविहीन कुहिराको काग जस्तै हुन्छ,’ उनले भनेका छन्, ‘अझ कार्यनीतिक हिसाबले प्रधान राजनीतिक अन्तरविरोध पत्ता लगाउने कुरा क्रान्तिका निम्ति पहिलो प्राथमिक महत्त्वको कुरा हो।’

कुनै पनि देशमा दलाल पुँजीवादको पनि एउटै मात्र प्रतिनिधि नहुने उनको भनाइ थियो। उनीहरूका पनि गुटहरू हुने र त्यसमध्ये दलाल पुँजीवादको मुख्य प्रतिनिधि जो छ, त्यहीसँग कम्युनिस्टहरूको प्रधान अन्तरविरोध रहने उनले बताए।‘यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो,’ उनले किटान गरेका छन्।

एमालेको नेतृत्वसँग पार्टीको वैचारिक अन्तरविरोध चर्को भए पनि त्यो मित्रतापूर्ण भएको खनालले बताए।‘राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो। एमालेलाई शत्रु शक्ति जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने र एमालेलाई मुख्य निशाना ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनु पर्छ। आजको मुख्य संघर्ष नै दक्षिणपन्थी र वामपन्थी बीचको संघर्ष हो,’ उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*