सुन तस्करीमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गरौँ: माओवादी नेताहरु
काठमाडौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन्।
केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषी देखिए कारबाही गर्न माग गरेका हुन्। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन्।
पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन्। केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए। उनले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताए।
पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी कुनै उजुरी नआएको बताए। यद्यपि कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएकाले सो बचनमा विश्वास गर्नुपर्ने बताए।
उनले भने – ‘के स्पष्ट पारौँ भने मिडियामा आउन बित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानुनी र संवैधानिक व्यवस्था छैन। त्यसो गर्नका निमित्त उजुर पर्नुपर्यो। उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो। ठुलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्ने बित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ। यहाँ त एकले अर्कोलाई आरोप लगाउने। त्यसैले म के स्पष्ट पार्न चाहन्छु भने पार्टीभित्र गम्भीरतापूर्वक छलफल भएको छ, र हाम्रो पार्टी भित्रका पनि कोही न कोही नेताहरू यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिन भनेर प्रधानमन्त्रीले, पार्टीले अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशङ्का नगर्न र खास गरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्याउन सबैले सहयोग गरौँ।’
त्यस्तै केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरुको संलग्नता पुष्टि भएमा नेताहरुलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताए।
उनले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताए। सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरू परे पनि कारबाही बाट पछि हट्नु नहुने जिकिर गरे।
उनले भने – ‘ज–जसलाई चर्चामा बाहिर आएको छ नि आरोप, छानबिन होस्। सत्य तथ्य छानबिन होस्। हाम्रै पार्टीका नेता परुन्। कार्यकर्ता परुन्। यो परुन्। त्यो परुन् भन्ने कुरा भएन। अपराधिहरुको कुनै पार्टी हुँदैन। अपराध कर्म गर्नेलाई सजाय हुनुपर्छ। चाहे त्यो जोसुकै होस् भन्ने कुरा नै हो। भित्र पनि कुरा नउठेको छैन। नेता बचाउने कि पार्टी बचाउने भन्ने कुरा अहम सवाल बनेको छ अहिले। कतिपय नेताहरुलाई संरक्षण गर्नु जरुरी छैन यदि त्यस्तो अपराधमा संलग्न भएको पुष्टि भयो भने। तर कहिलेकाहीँ मिडियामा, बाहिर सामाजिक सञ्जालमा चर्चा गरेकै भरमा आरोपित गरिहाल्ने। जेल नै पठाउने। अपराध गरिहालेछ भनेर आलोचना गर्ने कुरा भन्दा पनि सत्य तथ्य अनुसन्धान हुनुपर्यो। कुरा उठेको छ, पार्टी नेता परुन्। जो परुन्। छोड्नुहुन्न। यतिबेला पार्टीको साख बढाउने भनेको भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्ने कुराहरुले पार्टीको इज्जत पनि बढेको छ र त्यसले गर्दा समग्र देशमा आशावादीता सिर्जना भएको छ। केही गर्छ कि क्या हो माओवादी नेतृत्वको सरकारले भन्ने परिरहेको सन्र्दमा भ्रष्टाचारमा मुछिएका अरु पार्टीकालाई चाहीँ छोयो। आफ्नै पार्टीको नेताको चर्चा आउँदा चाहीँ पछाडि हट्यो भन्ने आरोप लाग्दैछ त्यो हुनुहुँदैन।’
त्यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परे पनि छोड्नु नहुने बताए। अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरे। सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनले स्पष्ट पारे।
केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्नु नहुने बताएका छन्। उनले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए। उनले सुन प्रकरणमा नाम जोडिएका नेताहरुले पनि आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको जानकारी गराए।
केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपनि नछाडिने बताए। उनले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने बताए। उनले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभूति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको उल्लेख गरे। पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परे पनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा केन्द्रीय सदस्यहरुको एक स्वर रहेको उनको भनाइ थियो।उनले देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरुलाई कारबाही गर्नैपर्ने धारणा राखे।-nagariknews



















