ताप्लेजुङमा आँखा पाक्ने संक्रमित बढे
ताप्लेजुङ । ताप्लेजुङमा पनि आँखा पाक्ने समस्या अधिक देखिएको छ । नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रमा बढी बिरामी यो समस्या लिएर आउन थालेका छन् ।
‘केही दिन यता मात्रै देखिन थालेको हो,’ उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले थपे, ‘यो संक्रमणका बिरामी दैनिक २५ जनासम्म आएका छन् ।’ अहिले सदरमुकाम क्षेत्रका बिरामी मात्रै आइरहेको उनको भनाइ छ ।
‘यो सरुवा रोग हो र मौसम परिवर्तन हुँदा यो समस्या देखापर्छर्,’ गुरुङले भने । यो रोग साउन, भदौ र फागुन, चैतको समयमा बढी देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् । आँखाभित्रको कन्जमटाइमा भन्ने लेयरमा हुने संक्रमण एक सातासम्म रहन्छ । त्यसपछि पनि निको नभए थप संक्रमण हुन सक्छ । यो संक्रमण देखिएपछि सरसफाइमा विशेष ध्यान दिनुपर्ने गुरुङ बताउँछन् ।
‘आँखा रातो देखिन थाले सफा पानीले छ्याप्पछ्याप्प हानेर सफा गरिहनुपर्छ,’ गुरुङले थपे, ‘एक साता यसो गर्दा भएन भने अनिवार्य आँखा देखाउनुपर्छ किनकि थप संक्रमण भएर आँखामा समस्या उत्पन्न हुन सक्छ ।’
साताभन्दा बढी गए क्रस इन्फेक्सन हुन सक्छ । ग्रामीण क्षेत्रका नागरिकले पानीमा विशेष ध्यान दिनुपर्ने गुरुङको सुझाव छ । यो बेला आँखामा फोहोर पानी परे संक्रमण फैलिन मद्दत पुग्छ । ग्रामीण क्षेत्रकालाई भने उपचारको पहुँचमा पुग्न पनि कठिनाइ छ । सदरमुकाम फुङलिङ र मेरिङदेन गाउँपालिकाको दोभान बजारमा आँखा उपचार केन्द्र छ ।
यो वर्ष आँखामा चोटपटकको समस्या पनि धेरै देखिएको गुरुङ बताउँछन् । मकैको पातले आँखामा पास्ने, सिरु घाँसले घोच्ने बिरामीको संख्या पनि उल्लेख्य छ ।
यस्ता समस्याबाट मुक्ति पाउन चस्मा लगाएर काम गर्ने बानी बसाउनुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ । ग्रामीण क्षेत्रमा आँखाको सुरक्षामा कम चासो दिने र समय घर्किएपछि उपचार केन्द्र आउँदा समस्या जटिल बन्ने गरेको गुनासो स्वास्थ्यकर्मीको छ ।



















