माओवादीमा उठ्यो पुस्तान्तरणको माग

प्रधानमन्त्री एवं अध्यक्ष दाहालको आलोचना, बालुवाटार सामन्तवादको केन्द्र बनेको आरोप
वेलकम खबर
साउन १८, २०८०

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएको छ । प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले पार्टी प्रणाली ध्वस्त भएको र नेतृत्वको निजी स्वार्थले संगठन लथालिंग भएको बताए ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार सुरु बैठकमा बोल्ने १८ केन्द्रीय सदस्यमध्ये आधाले दाहालसहित नेतृत्वमा रहेका नेताहरूको खुलेर आलोचना गरे । उनीहरूले पार्टी सुधार हुन अध्यक्ष दाहालबाटै सुरुवात हुनुपर्ने मागसमेत राखे । दाहालको राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा सदस्यहरूले मूल नेतृत्वको खुलेर आलोचना गरेका हुन् ।

केन्द्रीय सदस्य लक्ष्मण पन्तले मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय गणतन्त्र स्थापना भएपछि प्रधानमन्त्री निवास बालुवाटार सामन्तवादको किल्ला बनेको तर्क गरे । ‘बालुवाटार सामन्तवादको नयाँ किल्ला बन्यो, राजतन्त्रको अन्त भएर गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत भएको छ,’ उनले प्रधानमन्त्री, उपप्रधानमन्त्रीले आफन्तलाई स्वकीय सचिव नियुक्त गरेको प्रसंग उल्लेख गर्दै भने, ‘हामीले राजतन्त्रका बेला राजकुमार/राजकुमारीको विरोध गरेका थियौं, अहिले पार्टीमा फेरि राजकुमार/राजकुमारीको जन्म भयो ।’

उनले सत्तामा गएका नेतालाई ‘डिलिङ’ मा सजिलो हुने भएकाले आफन्तलाई निजी सहायक नियुक्त गरेको बताए । ‘दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक श्रेष्ठ हुनु संयोगमात्र होइन,’ उनको भनाइ थियो । पन्तले सबै नेतृत्व निर्वाचनबाट चयन भए मात्र नेतृत्वप्रति विश्वास जाग्ने बताए । ‘पार्टीको महाधिवेशन गरेर अध्यक्षसहित सबै नेतृत्व चुनावबाट चुनिएर आउनुपर्छ,’ उनको प्रस्ताव थियो । अन्य सदस्यले पनि विधान सम्मेलनपछि विशेष महाधिवेशनको माग गरेका थिए ।

अध्यक्ष दाहालको सांगठनिक प्रस्तावमाथि टिप्पणी गर्दै अर्का केन्द्रीय सदस्य गोविन्द रोकायले माओवादीमा उमेर हद तोक्नुपर्ने माग गरे ।

‘पार्टीमा उमेर हद लागू गरिनुपर्छ, सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर) लाई मापदण्ड बनाउन सकिन्छ, अथवा यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि सकिएला तर उमेर हदको व्यवस्था हुनैपर्छ नत्र युवाले पार्टीमा भविष्य देख्दैनन्,’ उनको प्रस्ताव थियो, ‘पुस्तान्तरणको नारा नारामै सीमित हुन्छ । हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्छ ।’

बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेता चयन हुने अवस्था नभएसम्म पार्टीको अवस्था सुधार नहुने उनले ठोकुवा गरे । ‘संगठन चुस्त र गतिशील हुन नेताहरू चुनावी प्रक्रियाबाट छानिनुपर्छ,’ नेता हिमाल शर्माको भनाइ थियो, ‘म चुनाव लडेर आउन तयार छु । अरू नेताहरू पनि आउनुपर्छ ।’

शान्ति प्रक्रियामा आएपछि लाभको पदमा बसेका नेताहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नॅपर्ने मागसमेत बैठकमा उठ्यो । केन्द्रीय सदस्य कृष्ण केसीले नेताहरू अपारदर्शी भएकाले जीवनशैली पारदर्शी हुनुपर्ने माग गरे । रोकायले नेताको सम्पत्ति राज्यका निकायले छानबिन गर्नॅपर्ने माग गरे ।

‘२०६३ यता पार्टीका तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता–कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्नॅपर्छ,’ उनको माग थियो, ‘आवश्यकताअनुसार राज्यको निकायद्वारा छानबिन पनि गराउनुपर्छ ।’ अर्का वक्ता रवीन्द्र श्रेष्ठले प्रधानमन्त्री र मन्त्रीको सचिवालयमा ‘बिचौलिया’ को आहोरदोहोर भइरहेको टिप्पणी गरे । ‘कार्यकर्तालाई प्रवेश गर्न नदिने, बिचौलिया र व्यापारीलाई स्वागत गर्न ढोकासम्म आउने सत्तामा भएका व्यक्तिबाट भएको छ,’ उनले भने ।

माओवादीले सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको विषयले पनि बैठकमा प्रवेश पाएको छ । ‘शान्ति प्रक्रियापछि जे–जे सम्झौता भएका छन्, तिनले पूर्णता पाएका छैनन्,’ केसीले थपे, ‘सरकारले हिम्मत गरेर ०४६ सालपछि बनेका राजनीतिक र न्यायिक आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।’

अध्यक्ष दाहालले बैठकको सुरुमा जीवनको उत्तरार्द्धमा सरकार र पार्टीको नेतृत्वमा रहेर राम्रो काम गर्न पूरा शक्ति लगाउने बताएका थिए । त्यसपछि बोल्ने नेताहरूको भनाइ थियो, ‘तपाईं विभिन्न झुन्डको घेरामा नबस्नुस् । त्यो घेरा तोडेर मुलुक र पार्टीका लागि राम्रो गर्ने अवसर छ ।’

बैठकमा पार्टी नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने जोडदार माग उठेको छ । केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले अन्धभक्त र आलोचनाका लागि आलोचना गर्ने व्यक्तिबाट पार्टी नबन्ने तर्क गरे । ‘युवामा पुस्तान्तरण नभएसम्म पार्टी सुदुढ हुन सक्दैन, त्यसैले निर्णायक तहमा ल्याउन युवालाई सम्बोधन गर्नुपर्छ,’ उनले भने । उनले पार्टी सरकारमा भएका बेला विदेशमा रहेका युवाका लागि सम्बोधन गर्ने कार्यक्रम ल्याउन सुझाव दिए ।

राजनीतिक प्रतिवेदनमा दाहालले पार्टी बन्न नसकेको स्वीकार गरेको उल्लेख गर्दै ओम शर्माले निर्मम समीक्षा नभए पार्टीको अस्तित्व नै नरहने बताए । ‘यही गति हो भने हजार वर्षसम्म पनि समाजवाद आउँदैन,’ उनको भनाइ थियो ।

महिला केन्द्रीय सदस्यहरूले भने पार्टीका सबै निकायमा महिलालाई बेवास्ता गरिएको गुनासो राखे । ‘केन्द्रदेखि स्थानीय समितिसम्म महिलाको प्रतिशत कम्तीमा ३३ प्रतिशत पुर्‍याउनुपर्छ,’ उनहरूको माग थियो ।

केन्द्रीय समितिमा २२ महिला थपिए

माओवादीले विधान संशोधन गरी केन्द्रीय समितिमा २२ सदस्य थप गरेको छ । बैठकले केन्द्रीय सदस्यमा महिला प्रतिनिधित्व र छुटेका नेता समेट्न विधान संशोधन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति विधान संशोधनपछि २२ महिला समेटेपछि पूर्ण केन्द्रीय सदस्यको संख्या ४ सय ९ पुगेको छ भने वैकल्पिक केन्द्रीय सदस्य १ सय ९९ जना छन् । अध्यक्ष दाहालले बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेपछि छलफल नै नभई पारित भएको थियो । ‘यो प्रस्तावमा छलफल नगरी पास गरौं, केन्द्रीय समितिमा महिला सहभागिता ३३ प्रतिशत पुर्‍याइएको छ,’ दाहालको भनाइ थियो । त्यसपछि प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको थियो ।

बैठकमा दाहालले आगामी दिनमा दुई अंकको पार्टी समिति बनाउने प्रस्ताव गरेकै दिन केन्द्रीय समितिको संख्या ४ सय ९ पुर्‍याइएको हो । हाल पूर्ण र वैकिल्पक गरी माओवादी केन्द्रीय सदस्य गरी ६ सय ८ जना छन् । केन्द्री समिति बैठकमा भने निर्वाचन, लेखा, आयोग, अनुशासन आयोगलगायत प्रदेश समितिका पदाधिकारी गरी करिब सात सय सहभागी छन् ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*