टिप्ताला भञ्ज्याङमा नेपालले बनायो भवन

राष्ट्रिय झण्डा राख्ने योजना
वेलकम खबर
साउन १७, २०८०

नेपाल र चीनको सीमावर्ती क्षेत्र टिप्ताला भञ्ज्याङमा चीनले भवन बनाएको चार वर्षपछि नेपालले पनि एकतले भवन निर्माण गरेको छ । सीमावर्ती क्षेत्रको अवलोकनमा गएकादेखि चीन पुगेर फर्किनेलाई यसबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।

ताप्लेजुङ । चीनसँगको सीमावर्ती टिप्ताला भञ्ज्याङमा नेपालले पनि भवन निर्माण गरेको छ । द्विदेशीय सिमाना छेवैमा चीनले भवन बनाएको पाँच वर्षपछि नेपालले पनि भवन निर्माण गरेको हो ।

चीनले तीनतले पक्की भवन बनाएको छ भने नेपालले जस्ता पाता लगाएर एकतले भवन मात्रै बनाएको हो । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार कोशी प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालय, पर्यटन विकास आयोजनाको सहयोगमा निर्माण गरिएको हो । गत आर्थिक वर्षमा बेसक्याम्प घर निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

भवन ५ हजार १ सय ५० मिटर उचाइमा निर्माण गरिएको छ । ‘पहिला सीमा क्षेत्रमा गस्ती गर्न जाँदा, चीनको रिउ पुगेर फर्किँदा जसरी पनि मौवाटार पुग्नुपर्ने बाध्यता थियो,’ छेतेनले भने, ‘हामीले भवनको भित्र न्यानो हुनेगरी काठ पटाई गरेका छौं, कपडा लगेर अब त्यहीं भित्र सुत्न, बस्न सकिन्छ ।’ चीनले तीनतले भवन बनाए पनि आफूहरुले बजेट अनुसारको बनाउँदा एकतले सानो मात्रै भएको अध्यक्ष छेतेन बताउँछन् । उनले भने, ‘भवन सानै भए पनि सिमानामै गएर रात बिताउँछु भन्न चाहिँ सकिने भएको छ ।’ नेपाल र चीनको यो नाका कोरोना संक्रमण सुरु भएदेखि बन्द रहेको छ । पटकपटक अनुरोध गर्दा पनि चीनले नाका खोलेको छैन ।

भवन निर्माणका लागि चौंरीलाई बोकाएर ओलाङचुङगोलाबाट काठ लगिएको थियो । ढुङ्गा त्यही आसपासमा खोजिएको वडाका कर्मचारी तेञ्जिङ वालुङ बताउँछन् । जस्तापाता । सिमेन्ट सदरमुकाम फुङलिङबाट लगिएको हो । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको इलाडाँडाबाट सिमेन्ट र जस्तापाता बोकाएर लैजानु परेको तेञ्जिङले बताए । ओलाङचुङगोलाबाट टिप्ताला भञ्ज्याङ २४ किलोमिटर दूरीमा छभने इलाडाँडाबाट करिब २० किलोमिटर दूरीमा रहेको छ । ‘अहिले त चार वर्ष भइसक्यो नाका बन्द छ आउजाउ ठप्प छ,’ छेतेनले थपे, ‘पहिला चीनले कहिलेकाहीँ १२ घण्टाभित्रै चीनबाट नेपाल जानु भन्थ्यो, त्यतीबेला हामीलाई सिमाना कटेर मौवाटार पुग्न कठिन हुन्थ्यो, भवनले गर्दा अब सजिलो भयो ।’ सिमाना हेर्न गएकाहरु, चौंरी गोठ लिएर गएकाहरु भवनमा बस्न सक्ने छेतेन बताउँछन् । उनले थपे, ‘चीनको जस्तो ठूलो बनाउन त सकिएन तर, हाम्रो पनि आफ्नै भवन छ भन्ने त भयो ।’

राष्ट्रिय झण्डा राख्ने योजना

वडा कार्यालयले टिप्ताला भञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा राख्ने योजना बनाएको छ । वडाध्यक्ष छेतेनका अनुसार नेपालको राष्ट्रियता झल्काउन हिउँ, पानीले नबिगार्ने गरी झण्डा राख्ने योजना बनाएको हो । ‘पिलर त छँदै छ हाम्रो झण्डाको पहिचान दिलाउन पनि राष्ट्रिय झण्डा फहराउन आवश्यक छ,’ छेतेनले भने, ‘फलामको डण्डा गाड्ने र हिउँ पानीले नबिगार्ने कस्तो खालको झण्डा हुन्छ त्यो अध्ययन गरिरहेको छौं ।’-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*