७७ वटै जिल्लामा कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

वेलकम खबर
साउन १७, २०८०

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।

केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।

प्रतिनिधिहरु पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरुले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने महामन्त्री गगन थापाले जानकारी दिए ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरुले सहजीकरण गर्नेछन् ।

भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली कांग्रेसले समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनेको छ । ‘दोस्रो चरणमा केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

हेर्नुहोस् केन्द्रीय प्रतिनिधिको नामावली

onlinekhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*