ताप्लेजुङमा लम्पी स्किनले दुई सयभन्दा बढी चौपाया मरे

वेलकम खबर
साउन १४, २०८०

काठमाडौ । लम्पी स्किन संक्रमणले ताप्लेजुङमा हालसम्म दुई सयभन्दा बढी पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरका अनुसार लम्पी स्किन रोग संक्रमणका कारण हालसम्म ताप्लेजुङमा २०७ चौपाया मरेको तथ्यांक छ ।

लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाई–गोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्नसमेत समस्या भएको किसानहरूको भनाइ छ । महतोका अनुसार लम्पी स्किन संक्रमणबाट ताप्लेजुङमा २०६ वटा गाईगोरु तथा एउटा भैँसी मरेको छ । ताप्लेजुङका स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिकामा लम्पी स्किन संक्रमणबाट १०२ चौपाया मरेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जानकारी दिएको छ ।

तथ्यांकअनुसार मैवाखोला गाउँपालिकामा ३३, फुङलिङ नगरपालिकामा २२, पाथीभरा याङ्वरक गाउँपालिकामा १२, मेरिङ्देनमा तीन, सिरिजंघामा २० पशुचौपाया मरेका छन् । यस्तै, आठराई त्रिवेणी गाउँपालिकामा १० र सिदिङ्वा गाउँमा एउटा भैँसीसमेत पाँचवटा चौपाया मरेका छन् । फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किन रोग संक्रमण देखिए पनि हालसम्म कुनै क्षति भएको छैन ।

केन्द्रका अनुसार ताप्लेजुङ र पाँचथर गरी दुई जिल्लामा अहिलेसम्म २८ हजार ६२५ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको छ । खोप लगाउने क्रम जारी रहेको केन्द्रले जनाएको छ । फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिकालगायत स्थानीय तहमा हाल पशुचौपायामा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य चलिरहेको बताइएको छ ।

मैवाखोला, सिदिङ्वा, मिक्वाखोला गाउँपालिकालगायत स्थानीय तहले केही दिनपहिले नै एक चरणको खोप अभियान सञ्चालन गरिसकेका छन् । आवश्यकताअनुसार लम्पी स्किन रोगविरुद्धको खोप अभियानलाई जारी राखिएको ती स्थानीय तहले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*