विश्व आदिवासी दिवस मनाउन महासंघको तयारी
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले साउन २४ (९ अगष्ट) मा २९ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ । हरेक वर्ष विश्वव्यापी रुपमा मनाइदैआएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
महासंघले साताव्यापी विविध कार्यक्रमगरी दिवस मनाउने तयारी गरेको छ । जसअन्तर्गत महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महासंघले विभिन्न उपसमिति समेत गठन गरेको छ ।
जसअन्तर्गत नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी रैली व्यवस्थापन उपसमिति र स्वयंसेवक उपसमिति, सचिव गोविन्द लामा ह्यल्मोको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष विमल सारु मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
विश्व आदिवासी दिवसका सन्दर्भमा महासंघले पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं । परम्परागत ज्ञान, सीपको प्रवर्धन गर्दै पुर्ख्यौंली भूमी, भाषा र संस्कृतीको संरक्षण गरौुं, भन्ने मूलनारा समेत तय गरेको नेफिनका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
दिवसलाई कोशी प्रदेश नामकरणको सन्दर्भमा भइरहेको आन्दोलनलाई सहयोग पुग्नेगरी शक्ति प्रदर्शनका हिसाबले पनि यो दिवस भव्य बनाइने नेफिनका बरिष्ठ उपाध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
नेफिनले साउन २४ गते काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रमअघि सोही दिन भृकुटीमण्डपबाट नेफिनमा आवद्ध सबै जातीय संघ संस्थाहरू आफ्नो जातीय भेषभूषा, संस्कार, संस्कृतीसहितको झाँकी रैली गरिने नेफिनका महासचिव दिवश राईले जानकारी दिनुभयो । समारोहस्थलमा जातीय भेषभूषा तथा फूड फेस्टिभल पनि आयोजना गरिने बताउनुभयो ।
कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्नुहुने आयोजकले जनाएको छ । समारोहमा शिक्षामन्त्री अशोक राई, शहरी विकासमन्त्री सीता गुरुङ, संस्कृति, पर्यटन तथा पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको समेत उपस्थिति रहने जनाइएको छ ।
यसैबीच विश्व आदिवासी दिवस साताव्यापी रुपमा मनाउने तयारी अन्तर्गत नेफिनले आवद्ध जातीय संघ संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । छलफलले महासंघमा आवद्ध सबै संघ संस्थाहरूले विविध कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेपाल छन्त्याल संघका अध्यक्ष मोहन छन्त्याल, किरात राई यायोख्खाका अध्यक्ष जीवन हताचो राई, कुमाल समाज नेपालको महासचिव गणेश कुमाल, तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष धनमान गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवारलगायतले आदिवासी जनजातिका प्रथाजनित मान्यतामाथि पटक–पटक धावा बोल्ने काम भइरहेको भन्दै यस्ता इश्युहरू आउँदा आदिवासी जनजातिको सवालमा काम गर्ने संघसंस्थाबीच समन्वय र एकता हुनुपर्ने बताएका थिए ।
विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।-gorkhapatraonline



















