कोशी प्रदेशमा पहिचानको नाममा एमाले कमजोर बनाउने खेल मात्रै : किराँत लिम्बू संघ (भिडियो सहित)
काठमाडौं । कोशी प्रदेशमा चलिरहेको आन्दोलन पहिचान प्राप्तिको आन्दोलन नभएर एमाले कमजोर बनाउने आन्दोलन मात्रै भएको निष्कर्ष लोकतान्त्रि किराँत लिम्बू संघले निकालेको छ ।
कोशी प्रदेश खारेजी र पुनः नामाङ्कनको आन्दोलन पनि होइन । यो आन्दोलन त शीर्फ नेकपा (एमाले) लाई मात्र पहिचान विरोधी शक्तिको रुपमा चित्रण गरी कोशी प्रदेशवासी जनता माझव्यापक रुपमा भ्रम पैदा गर्ने र नेकपा (एमाले)लाई कमजोर बनाउने उद्देश्यले चालिएको राजनीतिक चालबाजी मात्रै भएको निष्कर्ष नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको घटक संघ लोकतान्त्रि किराँत लिम्बू संघले निकालेको हो ।
किराँत लिम्बू संघले संविधानतः प्रदेश नामाङ्कनको लागि प्रदेशसभाको दुई तिहाइको समर्थन आवश्यक पर्दछ ।प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु एकमत नभएको भए प्रदेशको नामाङ्कन हुन सक्दैनथ्यो । अतः प्रदेशसभाका कूल ९३ जना सदस्यहरु मध्ये ८२ जना सदस्यहरुको समर्थनमा कोशी प्रदेश नामाङ्कन भएको हकमा कोशी प्रदेशको पक्षमा मतदान गरेका सम्पूर्ण प्रदेशसभा सदस्यहरु र दलीय हिसावले नेकपा (एमाले),नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरु समान रुपमा उत्तरदायी हुनुपर्दछ ।कोहीकसैले पानी माथिको ओभानो हुने र नेकपा (एमाले) लाई मात्र एक्लौटी रुपमा दोष थोपर्ने कुचेष्टा गर्नु सर्वथा गलत भएको निष्कर्ष निकालेका हो ।
किराँत लिम्बू संघले कोशी प्रदेश नामाङ्कन पश्चात् देखा परेका केही राजनीतिक गतिविधिहरुलाई होशियारीपूर्वक नियाल्नु जरुरी छ । साविक १ नं. प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकमा सबै दलहरुकोसर्वसम्मतिले प्रदेशको नामाङ्कन गर्ने संकल्प गर्ने, तत्पश्चात् प्रदेशसभाका ९३ जना सदस्य मध्ये ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गर्ने, मतदान सकिएको हप्ता दिन बित्न नपाउँदै पक्षमा मतदान गर्ने एउटा दल नेकपा (माओवादी केन्द्र) ले नामाङ्कनको विपक्षमा रहेको घोषणा गर्ने, अर्को दल नेपाली काँग्रेसका १४ वटै जिल्ला सभापतिहरुले प्रदेशको पुनःनामाङ्कन हुनुपर्छ भन्दै सामूहिक वक्तव्य जारी गर्ने तर नेपाली काँग्रेसले भने कोशी प्रदेश नै कायम हुनु पर्छ भनी वक्तब्य जारी गरेर आम जनमानसमा भ्रम सृजना गर्ने, अर्कोतर्फनेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री, उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष, सचिव र प्रदेशसभा सदस्यहरु माथि श्रृङ्खलाबद्ध किसिमले आक्रमण र दुर्व्यवहार गर्ने तर प्रदेश प्रमुखद्वारा कोशी प्रदेशकोनाममा लालमोहर लगाउँदा र नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले “प्रदेशको नामाङ्कन संशोधन हुँदैन” भनिरहँदा‘तैं चुप मै चुप’बस्ने कृयाकलापबाट‘आन्दोलनकारी’ हरुको असलियत पनि छताछुल्ल भएको उल्लेख गरेको छ ।
संघले कोशी प्रदेश नामाङ्कनको बहानामा समाजमा जातीय विद्वेश फैलाउने, अन्ध–जातिवादी भावनालाई मलजल गर्ने, साम्प्रदायिक भड्कावलाई प्रश्रय दिने; अन्तत्तोगत्वा समानुपातिक समावेशिता, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास प्रकृयामै गम्भीर क्षति पुर्याउने गतिविधिहरुलाई परास्त गर्दै सामाजिक सद्भाव र एकतालाई मजबूत बनाई सामाजिक न्याय, समानता, समुन्नति, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिनु हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय समक्ष अपिल समेत गरेको छ ।





















