ताप्लेजुङमा लाखे

टंक श्रेष्ठ
असार ३१, २०८०

बहुजातीय, बुहभाषिक र बहुसांस्कृतिक मुलुक नेपाल । विभिन्न जातजातिहरु आ–आफ्नै भाषा, संस्कृति र परम्पराहरुमा रमाइरहेका छन् । कालक्रममा कतिपय भाषा, संस्कृति तथा धर्महरु माथि सत्ता÷शक्तिको गिद्धेदृष्टि पनि पुग्न गयो । ‘एउटा भाषा एउटै भेष’ भन्ने घोर दक्षिणपन्थी अहंकारको भुङ्ग्रोमा परेर पनि धेरै जातिले आफ्नो भाषा, संस्कृतिलाई जोगाउन सके ।

नेवारलाई विश्वमा नै समृद्ध संस्कृति बोकेको जातिको रुपमा लिइन्छ । काठमाडौं उपत्यका मूल थलो भएका नेवारहरु विभिन्न कारणले देशको सबै जिल्लामा पुगे । नेवारी संस्कृतिको अभिन्न अंगको रुपमा रहेको लाखेनाचलाई नेवारहरुले ताप्लेजुङमा पनि पु¥याए ।

टंक श्रेष्ठ लेखक

 

लाखेनाच कहिलेदेखि ?

नेवार जातिको जीवन्त संस्कृति बनेको लाखेनाचको उत्पत्ति कहिले भयो, यसबारेमा संस्कृतिविद्हरुमा मतैक्यता पाईदैन । संस्कृतिविद् सत्यमोहन जोशी ‘५०० वर्ष भन्दा अघि लाखेको सुरुवात भएको हुन सक्छ भन्नुहुन्छ’ भने अर्का संस्कृतिविद् हरिराम जोशी ‘करिब ४०० वर्ष अघि मध्यकालमा लाखेको सुरुवात भएको हुनसक्छ’ भन्नुहुन्छ । अर्का संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग ‘उपत्यकामा नेवारी सभ्यताको सुरुसँगै लाखेनाचको पनि सुरुवात भएको हुनसक्छ । समाजमा दमन र शोषणको सुरुवातसँगै त्यसलाई नाटकीय रुपबाट प्रस्तुति दिन पनि लाखेनाचको सुरु भएको हुनुसक्छ’ भन्नुहुन्छ । लाखेनाच र नेवारी संस्कृतिमा काम गरिरहनु भएका पदमकुमार शाक्य (संखुवासभा) ‘राजा शुद्धोधनले आफ्नो छोराको वियोगमा गाएको गीत लाखेनाचसँग जोडिएको हुँदा भगवान बुद्ध जन्मनुभन्दा अघिदेखि लाखेनाच सुरु भएको हुनसक्छ’ भन्नुहुन्छ । लाखेको उत्पत्ति कहिले भयो भन्ने उल्लेख गर्न कठिन भए पनि लाखेलाई राक्षसको रुपमा पनि लिइनु, कंशको रुपमा हेरिनु र कतै कतै कंशको सेनाको रुपमा पनि लिइनुले लाखेको उत्पत्ति धेरै अगाडि भएको अनुमान गर्न सकिन्छ ।

लाखेको मुकुन्डो, नचाइ, बाजा, सुर तालमा पनि ठाउँअनुसार केही फरक देखिन्छ । ठाउँअनुसार लाखेलाई हेर्ने दृष्टिकोण पनि फरक फरक रहेको पाइन्छ । नेवारहरुको पहिचान बनेको लाखेलाई पुर्वीय दर्शनमा नकारात्मक पात्रको रुपमा लिइए पनि समग्र नेवारी दर्शनमा लाखेलाई भैरवको रुपमा पुजिन्छ । र, लाखेलाई देवता बनाएर टोलटोलमा पुजा गर्ने परम्परा पनि चलि आएको देखिन्छ ।

ताप्लेजुङमा लाखेनाच कहिलेदेखि ?

ताप्लेजुङको ताप्लेजुङबजार, दोभान, हान्द्रुङजस्ता नेवारहरुको बाक्लो उपस्थिति भएको ठाउँहरुमा लाखेनाच नाचिदै आएको पाइन्छ । धुलेबजारमा पनि लाखेनाच धेरै पहिलादेखि नाचिदै आएको भए पनि अहिले बजार पुरै विस्थापित भएकोले लाखेनाच पनि छैन । ताप्लेजुङमा नेवारहरु रहेको बस्ती÷बजारमा लाखेनाच नाचिदै आएको भए पनि यो नाच कहिलेदेखि सुरु भयो भन्ने कुनै प्रामाणिक आधार अहिलेसम्म भेटिएको छैन । १८७० को दशकमा ताप्लेजुङमा नेवारहरु पुग्न थालेको पाइन्छ तर, लाखेनाच चाहिँ ताप्लेजुङ कहिले पुग्यो त ? यस प्रश्नको उत्तर सहज देखिदैन । ताप्लेजुङमा लाखेनाँच यतिबेलादेखि सुरु भयो भनेर भन्न सक्ने कोहि देखिदैन । यसको लागि अनुमानकै सहारा लिनुपर्ने अवस्था छ । एउटा कुरा के चाहिँ अनुमान हुन्छ भने ताप्लेजुङमा अमिनी स्थापना हुनु अगाडि लाखेनाच सुरु भएको थिएन । १९५२ सालमा अमिनी अड्डाको स्थापना भएपछि ताप्लेजुङमा बजार बस्न थाल्यो । ताप्लेजुङ बजारमा नेवारहरुको उपस्थिति बढ्न थालेसँगै लाखेनाच सुरु भएको हुनसक्ने देखिन्छ । र, ठ्याक्कै भन्न नसकिए पनि लाखेनाचको लागि पहल गर्नेहरुमा भाजुभक्त राजभण्डारी, कालुमान श्रेष्ठ र धनभक्त श्रेष्ठहरु हुन् कि भनेर अनुमान लगाउनु पर्ने अवस्था छ । भगवति राजभण्डारी (१९९७) भन्नुहुन्छ ‘कसले लाखेनाच सुरु ग¥यो भन्ने त सुनिनँ तर मैले थाहा पाउँदा भाजुभक्त बसेको मुलघरमा लाखेको सामान राख्थ्यो र त्यहीँबाट लाखे निकालिन्थ्यो । गठेमंगलको दिन त्यही घरबाट पुजाको सामान र प्रसाद तयार गरेर मिभसेनथान गएर पूजा गरिन्थ्यो । त्यो हेर्दा कतै भाजुभक्तले नै लाखेनाच सुरु गरेको हो कि !’ लाखेको बारेमा तेजबहादुर श्रेष्ठ (१९९९) भन्नुहुन्छ, ‘भाजुभक्त राजभण्डारीको जेठो छोरा बहिदार ईन्द्रप्रसाद राजभण्डारी धेरै राम्रो लाखेनाच नाच्थ्यो रे । मैले उनले नाँचेको त देखिनँ । उनको छोरा मनप्रसाद विचारी सारै राम्रो लाखे नाच्ने मान्छे थिए । २००६ सालतिर मैले थाहा पाउँदा मनप्रसाद विचारीको घरबाट लाखे निकालिन्थ्यो ।’ मनप्रसाद विचारी भाजुभक्तका नाति हुन् । बालकृष्ण श्रेष्ठ (२०००) भन्नुहुन्छ ‘मनप्रसादको बाबु हुँदा त्यहाँबाट निकालिन्थ्यो होला, पछि त मेरै घरबाट लाखे निकालिन्थ्यो । भानु स्कुललाई लाखे जिम्मा दिदा लाखेको सामान हाम्रै घरमा थियो ।’ नारायणभक्त श्रेष्ठ भन्नुहुन्छ, ‘हाम्रो अजा धनभक्त र कालुमान दोलखाबाट सँगै ताप्लेजुङ आएको कुरा अजाले गर्नुहुन्थ्यो । उहाँ २० वर्षको उमेरमा ताप्लेजुङ आएको बताउनु हुन्थ्यो ।’ धनभक्त १९४१ सालमा जन्मेका हुन् । त्यस हिसाबले धनभक्त र कालुमान १९६० सालपछि ताप्लेजुङ आएको देखिन्छ । उता भाजुभक्त राजभण्डारी भने ताप्लेजुङमा अमिनी स्थापना हुनुभन्दा अगाडि नै ताप्लेजुङ आएको देखिन्छ । ताप्लेजुङमा लाखे निकाल्ने अगुवाहरु भाजुभक्त, कालुमान (भाजुभक्तका ज्वाइँ) र धनभक्त हुनसक्ने देखिन्छ । र, लाखे १९६५ सालको आसपासबाट निकाल्न थालेको हो कि भनेर अनुमान लगाउन सकिन्छ ।

गठेमंगल र लाखे निकाल्ने

लाखे कहिले निकाल्ने गरिन्छ वा नाचिन्छ ? यसबारेमा पनि ठाउँ अनुसार फरक परक चलन रहेको पाइन्छ । काठमाडौंमा इन्द्रजात्राको बेला ७ दिन लाखे निकालिन्छ । यो लाखेलाई मजिपा लाखे भनिन्छ । मजिपाट भन्ने ठाउँबाट निकालिएको हुँदा यसको नाम मजिपा रहन गएको बताइन्छ । त्यस्तै भगवान बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा एक महिनासम्म लाखे निकालिन्छ । यसलाई गुंला लाखे भनिन्छ । गाइजात्राको अवसरमा पनि लाखे निकालिन्छ । साथै खास सांस्कृतिक पर्वहरुमा पनि लाखे नाच्ने गरिन्छ । चैनपुरमा नागपञ्चमीको दिनदेखि लाखे निकालि कृष्णजन्माष्टमीको भोलिपल्ट मार्ने काम गरिन्छ । ताप्लेजुङमा साउन कृष्ण चतुर्दशीका दिन गठेमंगलको पुजा  गरी भोलिपल्टदेखि लाखे निकाल्ने चलन रहेको भए पनि माओवादी द्वन्द्वपछि दिउँसै पुजा गरेर निकाल्न थालिएको छ ।

गठेमंगललाई घण्टाकर्ण पनि भनिन्छ । नेवारहरुले गर्ने गठेमंगलको पुजा उपत्यका र उपत्यका बाहिर करिब करिब समान प्रकारको छ । धानको पराल वा गहुँको छ्वालीबाट नर्कटा बनाइन्छ । खुट्टा, जिउ, हात बनाएर कालो हाँडी शिरमा राखि टाउको बनाइन्छ र मुखटा चाहिँ नाङ्लोबाट बनाइन्छ । नाङ्लोमा कालो÷रातो÷सेतो रंग प्रयोग गरेर आँखा, नाक, मुख र जुँगा बनाइन्छ । यसरी बनाइएको गठेमंगल दोबाटो÷चौबाटोमा ठड्याई जगात मागिन्छ । जगात उठाउनुको कारणमा तेजेश्वर बाबु ग्वंग भन्नुहुन्छ, ‘पराल, छ्वाली र समयबजी लगायतको खर्चको लागि; साथै सबैको सहभागिताको लागि जगात उठाउने चलन आएको हो ।’ बालकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘ताप्लेजुङमा मैले थाहा पाउदा गठेमंगललाई दिनभर चौबाटोमा राखि साँझपख कहिले जिमीपोखरी गणेशथान छेउको खोल्सा र कहिले भुँडेजंगल छेउको खोल्सामा लगेर सेलाउने चलन थियो । गठेमंगल सेलाएपछि भोलिपल्ट भिमसेनको पुजा गरी लाखेनाच सुरु गरिन्थ्यो ।’

गठेमंगललाई राक्षसको प्रतिकको रुपमा पनि लिएको पाइन्छ । तर संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग ‘म गथेमंगललाई राक्षसको रुपमा मान्दिनँ । यो नकारात्मक पात्र होइन । गथेमंगलको नर्कटलाई साँझपखमा धानको खेत नजिक लगेर सेलाइन्छ, बालिन्छ । त्यसको वैज्ञानिक अर्थ छ । साँझपख धानमा किराहरु आइ धान वालीलाई नोक्सान गर्ने हुँदा त्यो गथेमंगलको नर्कट धानवाली छेउ बाल्नाले किराहरुको नाश भइ धान उत्पादनमा सहयोग पु¥याउँछ ।’ ताप्लेजुङमा गठेमंगलबाट लाखे निकालिए पनि सबैतिर भने यस्तो चलन छैन । डा. चुङ्दा बज्राचार्यका अनुसार ‘लाखे निकाल्ने कुरामा एकरुपता छैन, ठाउँअनुसार फरक छ । कतै इन्दंजात्रा, कतै गठेमंगलमा, कतै नागपञ्चमीमा पनि निकालेको पाइन्छ । केही ठाउँमा खेतिपातिमा सहयोगको लागि लाखे प्रयोग गरेको पाइन्छ । खेतिपातिकै सहयोगको लागि अक्षय तृतीयामा लाखेको पुजा गरेर घर भित्र्याउने र गठेमंगलको दिन चोख्याएर फाल्ने चलन पनि छ ।’

लाखेनाच :  परम्परा र परिवर्तन

ताप्लेजुङमा सुरु सुरुमा लाखे नाच्नेहरुमा ईन्द्रप्रसाद श्रेष्ठ (राजभण्डारी), कालुमान श्रेष्ठ, देवीप्रसाद श्रेष्ठ (राजभण्डारी, देवी विचारी) हरु थिए । केही पछि दोलखाबाट मानबहादुर श्रेष्ठ (बालकृष्ण श्रेष्ठको बुबा) आएपछि उनी पनि लाखेनाचमा सामेल भए । दोस्रो पुस्तामा मनप्रसाद श्रेष्ठ (राजभण्डारी), बालकृष्ण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, मोहन श्रेष्ठ (हान्द्रुङे) मोहन श्रेष्ठ (राजभण्डारी, लामोघरे) आदिको यसमा अगुवाई र सक्रियता थियो । पहिला लाखे नेवारले मात्रै नाच्नुपर्छ भन्ने मान्यता थियो । लाखे निकाल्नु अघि पुजा गरिन्थ्यो । ई. मदन श्रेष्ठ भन्नुहुन्छ, ‘मैले थाहा पाउदा लाखे मनप्रसाद श्रेष्ठको घरबाट निकालिन्थ्यो । पुजा नेवारबाट मात्रै हुन्थ्यो र पुजा स्थलमा अन्य जातिका मानिसहरुलाई प्रवेश दिइदैन थियो ।’ यसरी नेवार समुदायले. मात्रै निकाल्दै  आएको लाखेनाचले २०२१ सालबाट फड्को मा¥यो । २०२० सालमा भानु हाइस्कुलमा गोरखप्यारा श्रेष्ठ हेडमास्टर भएर आए । उनले स्थानीय नेवारहरुलाई सम्झाइ बुझाइ नेवारहरुमा सीमित रहेको लाखेनाचलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन भानु हाइस्कुलको मातहतमा ल्याए । स्कुलले लाखेनाच सुरु गरेपछि लाखेनाच, रोपाइँ, हिलेजात्राहरु अरु व्यवस्थित र प्रभावकारी बन्यो । र, भानु स्कुललाई पनि लाखेनाच आर्थिक संकलनको राम्रै स्रोत बन्यो । स्कुलले लाखेनाच निकाल्न थालेपछि अब यो नेवारहरुको मात्रै बनेन । अन्य जातिकाहरुले पनि लाखे भएर नाच्न थाले । त्यसपछि डिल्लीजंग मादेन, पर्वत श्रेष्ठ, यादप श्रेष्ठ आदिले ताप्लेजृुङमा लाखेनाचलाई प्रभावशाली रुपमा प्रस्तुत गर्न सफल भएको हुनाले लाखेनाचको कुरा आउदा उहाँहरुलाई धेरैले स्मरण गरेको पाइन्छ ।

ताप्लेजुङमा पछिल्लो समय नेपाल भाषा तथा सांकृतिक समाजले लाखेनाचलाई जिवन्त बनाइ राख्न सफल भएको छ । समाजका अध्यक्ष शंकर श्रेष्ठ भन्नुहुन्छ, ‘पछिल्लो समय नेवार युवाहरु जिल्ला बाहिर जानेको संख्या बढेको र भएकाहरु पनि मोबाइल संस्कृतिमा रमाएको कारण नेवारबाट मात्रै लाखेनाच सम्पन्न गर्न कठिन हुँदै गएको छ । लाखेनाचमा अन्य जातका युवाहरुको साथ लिएर भए पनि लाखेनाचलाई अगाडि बढाइरहेको अवस्था छ ।’

ताप्लेजुङ सबै जातिका बच्चा, युवा तथा वृद्धहरको लागि प्रिय बनेको लाखेनाचलाई जोगाइ राख्नु र यसलाई अझ समृद्ध बनाउने जिम्मेवारी समाजका अगुवाहरुको हो । जय लाखे ! जय संस्कृति !

 

लेखक ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको अध्यक्ष हुनुहुन्छ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*