ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

रासस
असार २९, २०८०

फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।

बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।

यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो ।

हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।

ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ । सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए ।

ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी)मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु