समाजवादको आधार निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जनात्मक कर्मसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका छन् ।
सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेको भन्दै सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनु पर्ने बताए ।
नले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सृजनशीलताले देशको सर्वोपरि विकास, समृद्ध समाज निमार्णमा मद्दत पुग्दछ । जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निमार्णको सङ्कल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवम् सांस्कृतिक आधार निमार्णमा केन्द्रित रहनु पर्नेमा सायदै हामी कसैको विमति होला ।’
उनले पुष्पलाल राष्ट्रिय पुरस्कार प्राप्त व्यक्तिहरूले समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको पनि बताए ।
उनले भने, ‘समाजवादी संस्कृति निमार्णको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न समेत पुरस्कृत हुने व्यक्तिहरूबाट महत्त्वपूर्ण योगदान हुने विश्वास राखेको छु । ’
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलन मात्रै नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान निकै विशिष्ट रहेको स्मरण गर्दै समग्र लोकतान्त्रिक आन्दोलनको र लोकतन्त्र प्राप्तिको मार्गदर्शन गर्ने कुरामा पनि पुष्पलालको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्व भएको बताए ।
कम्युनिष्ट आन्दोलनको सुरुवातकर्ता मात्रै नभएर नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तिको रूपमा रहेको उनको भनाई छ ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली समाजको प्रारम्भिक अध्ययन गरेर नेपाली समाजलाई समाजवादसम्म पुर्याउनु प्रमुख कार्यभर भएको उनको भनाई छ ।
उनले भने, ‘नेपाली समाजको प्रारम्भिक अध्ययन गर्न पर्छ र नेपाली समाजलाई समाजवादसम्म पुर्याउनै पर्छ यो हाम्रो कार्यभार हो । पुष्पलालको पहिलो सपना सयुक्त मोर्चा गठन गरेर राजतन्त्र अन्त्य गर्ने, दोस्रो नौलो जनवाद स्थापना गर्ने, तेस्रो समाजवाद स्थापना गर्ने र चौथो नेपाली समाज र इतिहासको वृहत् अध्ययन गर्ने सपना थियो जुन अपुरो नै छ । ’
उक्त कार्यक्रममा पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार राजनैतिक विषयगतमा वलचन्द्र मिश्र, साहित्य तथा संस्कृति तर्फ कमल प्रसाद कोइराला र इतिहास विषय तर्फ गोपालप्रसाद थपलियालाई जनही रु १ लाख नगद सहित पुरस्कृत गरिएको थियो ।



















