‘आरजु देउवा गिरफ्तार हुन्नन्’

वेलकम खबर
असार २५, २०८०

काठमाडौं । आइतबार अपराह्नतिरबाट भुटानी शरणार्थी प्रकरण एकाएक चर्चाको चुलीमा पुग्यो । यस प्रकरणमा अभियुक्तका रूपमा पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्मा र जाहेरवाला गजेन्द्र बुढाथोकीबीच भएको भनिएको टेलिफोन वार्तालापमा सुनिएको आवाज सन्देश शर्माको नै भएको पुष्टि भएको भन्ने प्रहरी प्रधान कार्यालयको पत्र सार्वजनिक भयो ।

झन्डै डेढ मिनेटको वार्तालापमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं प्रतिनिधिसभा सदस्य डा. आरजु देउवालाई २ करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी एवं अर्की प्रतिनिधिसभा मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको भनेर अभियुक्त सन्देश शर्माले भनेको स्पष्ट सुनिन्छ ।

आरजु देउवाले सो वार्तालापको टेप ‘एनिमेटेड’ भएको दाबी गर्दै अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएकी थिइन् । हालै आरजुले आफ्नो उजुरीमाथिको अनुसन्धान कहाँ पुग्यो भनी ताकेता गरिछन् । प्रहरीले जनाएअनुसार आइतबार सार्वजनिक भएको प्रहरीको पत्र कुनै सार्वजनिक खपतका लागि नभई स्वयं आरजु देउवाको ताकेताको जवाफ हो । प्रहरी भन्छ, ‘त्यो कसरी सार्वजनिक भयो हामीलाई थाहा छैन ।’

जे होस्, सो पत्र सार्वजनिक भएपछि चर्चाको चुलीमा पुग्यो । अनायास आरजु देउवा र मञ्जु खाँण गिरफ्तार हुनेसम्मका अनुमान र अपेक्षाले शिखर चुम्यो ।

वास्तविकता चाहिँ के रहेछ भने सो टेप र त्यसको आवाज सक्कली भएको पुष्टि १० जेठमा नै अदालतमा बुझाइएको मिसिलमा नै सामेल गरिएको रहेछ । स्वयं अभियुक्त सन्देश शर्माले सो आवाज आफ्नै भएको स्वीकारेका रहेछन् । तर, सन्देश शर्माले त्यो वार्तालापमा भएको कथनप्रति भने इन्कारी गरेका रहेछन् ।

स्रोतका अनुसार सन्देश शर्माले इन्कारीमा भनेका छन्, ‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसले हामीलाई समस्यामा पारिसके । निजहरू आएको समयमा हामी तपाईंलाई फोन गर्छौं । सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनी जानकारी गराइदिनुभयो भने बच्छौं भनी पहिले नै भनेका थिए । त्यहीअनुसार मैले फोन गरेको हुँ । पहिले नै उनीहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरूले भनेअनुसार आरजु देउवा तथा वालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनू भनेर मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो ।’

यो परिप्रेक्षमा धेरैको अपेक्षाअनुसार डा. आरजु देउवा गिरफ्तार होलिन् त ? यी तथ्यहरूलाई मात्र हेर्दा त आरजु देउवा चोख्खिने पो देखिन्छन् त ! पूरक अनुसन्धानबाट थप तथ्य उजागर भएमा कुरो बेग्लै हो ।-rajdhanidaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*