नियमित वर्षाले यातायात प्रभावित

वेलकम खबर
असार २४, २०८०

ताप्लेजुङ । फुङलिङ नगरपालिका–२ हान्द्रुङमा प्र१ख ३९५४ नम्बरको ट्रक तीन दिनदेखि फसेको छ । सडकको बीच भागमा धसिएको ट्रक पछाडि सार्ने ठाउँ छैन । चालक, सहचालकलगायत भेला भएर गाडी अगाडि बढाउने प्रयास गर्छन् । अलिकति अगाडि सरे गर्व गर्छन् । प्रयास गर्दागर्दै थाकेपछि थकान मार्न वरपर लाग्छन् ।प्लाइउडको पत्ता लोड गरेको यो ट्रक ननिकलेसम्म अरु निकाल्ने ठाउँ नभएकाले सातवटा ट्रक यसैको पछि रोकिएका छन् । ट्र्याक्टर, जिप, मोटरसाइकलजस्ता साना गाडी भने यसको भित्तापट्टिबाट जोडबल लगाएर वारपार गर्छन् । यो ट्रक निकाल्न भने घाम लागेर सडक सुक्नैपर्ने चालकहरु बताउँछन् ।

त्यही दिन फर्कने गरी बुधबार फुङलिङ नगरपालिकाबाट गएको मे १ ज ३२१६ बोलेरो जिप मिक्वाखोला-४ साँवा पुगेपछि बिग्रियो । हिलोमा फसेको जिपको चिलिम भाँचिएपछि सदरमुकाम फुङलिङबाट सामान मगाउनु पर्‍यो । शुक्रबार बेलुका बल्ल फुङलिङ फर्कियो । नागेश्वरीमा यात्रु र स्थानीय समेतको सहयोगमा ठाउँ/ठाउँमा ठेलेर बाहिर निकाले । चालक नरेश गुरुङ मुल बाटो नभएर भित्रभित्रको मार्ग घुमेर फर्कनु परेको बताउँछन् । ‘जहाँसम्म बाटो छ गयो, रोकिएको रहेछ भने फेरि फर्कियो र पुरानै बाटोमा आयो यसरी बाटो खोज्दै खोज्दै फर्कनु पर्‍यो,’ उनले भने ।

लगातारजसो भइरहेको वर्षा, सडक माथिबाट झर्ने पहिरो, नाली नकाटेको सडकमा जमेको पानीजस्ता कारण यतिबेला हिमाली तथा पहाडी जिल्लाका सडक पार गरेर गन्तव्यमा पुग्न कठिन भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की निश्चित समयमा पुग्नचाहिँ सडक, गाडी पुग्नु अघिको जस्तो हिँडेरै सम्भव रहेको बताउँछन् । ‘पानी परेको बेला चाहिँ हिँड्न पनि कठिन छ,’ कार्कीले भने । मनसुनमा सडक धेरै नै बिग्रिएकोले समस्या भएको उनले बताए । मौसम खुले पछि गाउँपालिकाले सडक बनाउने उनको दाबी छ ।

जेठ ३२ को रातिको बाढीले अवरुद्ध भएको सदरमुकाम फुङलिङबाट दोभान हुँदै आठराई त्रिवेणी, मैवाखोला र मेरिङदेन गाउँपालिका जोड्ने सडक उत्तर दक्षिण लोकमार्ग आयोजनाले दुई साताको प्रयास पछि खोल्यो । वर्षा हुँदा र खोलामा बाढी आउँदा अझै पनि अवरुद्ध हुने दोभानका टंक खतिवडा बताउँछन् । सदरमुकाम फुङलिङबाट बाहिर रहेका गाउँपालिका जोड्ने सडकहरु अधिकांश अवरुद्ध छन् । सञ्चालनमा रहेकाहरु पनि कतिबेला अवरुद्ध हुन्छन् पत्तो हुँदैन । ताप्लेजुङबाट पाँचथर हुँदै जिल्ला बाहिरका अन्य जिल्ला जोड्ने हेवाखोलाको बेलिब्रिज तीन सातासम्म पनि बन्न सकेको छैन । पुल नबन्दा झापाको बिर्तामोडबाट ताप्लेजुङ आएका ट्रक जिपलगायतका सवारी साधन दुई सातादेखि फर्कन पाएका छैनन् । खोलामा डाइभर्सन बनाएर अस्थायीरुपमा बनाउने प्रयास गरे पनि सफल भएको छैन ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*