चौंरीखर्कमा पनि लम्पीको डर

वेलकम खबर
असार २०, २०८०

फुङलिङ नगरपालिकासहित मैवाखोला, आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा लम्पी स्किन रोगको बढी समस्या

ताप्लेजुङ। फुङलिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईको गाई शरीरमा ठेउला आउने, खान नरुचाउने, ज्वरो आउने भएर मर्‍यो । सुरुमा सामान्य ठानेर घरेलु उपचार गरेका भट्टराईले गाई थलिएपछि स्थानीय एग्रोभेटबाट पशु स्वास्थ्यकर्मी लगेर हलगोरु, भैंसी र बाछोलाई खोप लगाए । यति बेला उनको गोठको गाई, एक हलगोरु मरिसके भने भैंसी थला परेको छ ।

भट्टराईको मात्रै नभएर फुङलिङ नगरपालिका–२, ३ र ८ मा लम्पी स्किनको समस्या लगातार बढ्दै गएको छ । अहिलेसम्म जिल्लामा १ हजार ७७ चौपायामा लम्पी स्किन संक्रमण भएको र आठ वटा गाई–गोरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ । फुङलिङ नगरपालिकासहित मैवाखोला, आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा बढी समस्या देखिएको भेटेरेनरी अस्पतालका पशु स्वास्थ्य प्राविधिक अमित माझीले बताए ।

जिल्लाको औल क्षेत्रमा लम्पी स्किनले चौपाया मर्न थालेपछि हिमाली क्षेत्रका चौंरीपालक किसान र स्थानीय जनप्रतिनिधिमा चिन्ता बढेको छ । गोठमा संक्रमण पस्न नदिन उनीहरूले चौंरी उकालो लगाएका छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन लामा भोटेले चौंरी पालकले गोठसम्म संक्रमण आउन नदिन चराइरहेको ठाउँभन्दा उकालो लगाएको जनाए । मौवाटार र सिंजेमाताल आसपास गोठ पुर्‍याएका उनीहरू त्रासमुक्त हुन नसकेको छेतेनको भनाइ छ ।

लम्पी स्किन सरुवा रोग भएकाले एउटालाई भेटे खर्कभरि फैलने चिन्ता बढेको उनीहरू सुनाउँछन् । फक्ताङलुङको लेलेप, ओलाङचुङगोला, इखावु, सिरिजंगा गाउँपालिकाको याम्फुदिन, मामाङखे, खेवाङ, मिक्वाखोलाको पापुङ, साँवाका बासिन्दाले व्यावसायिक चौंरीपालन गर्दै आएका छन् । एकै जनाका गोठमा ५० भन्दा बढी चौंरी, याकलगायत चौपाया छन् । उनीहरूले एकअर्काका चौंरी मिसाएर पनि पाल्ने गरेका छन् । यतिबेला फक्ताङलुङको हिमाली क्षेत्रका एउटै खर्कमा हजारौंको संख्यामा चौपाया छन् ।

अघिल्ला वर्ष यतिबेला गोलाका चौंरी गोठ ओलाङचुङगोलाको जोङ्गिन, बस्ती आसपासका खर्क र लेलेपको फले, घुन्सालगायत क्षेत्रमा रहन्थे । मिक्वाखोलाको पापुङ आसपासमा हुन्थे । अहिले गोलाका गोठ मौवाटार, सिङजेमाताल आसपास पुर्‍याएका छन् । यहाँबाट नेपाल र चीनको सिमाना टिप्ताला आसपास क्षेत्रसम्म लगिन्छ ।

फक्ताङलुङको लेलेप र याम्फुदिनमा गरी २४ वटा गोठमा १७ सय बढी चौंरी–याक रहेको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले बताए । मिक्वखोलाको पापुङ, साँवालगायत क्षेत्रमा पनि यत्तिकै संख्यामा रहेको उनको अनुमान छ । हिमालतिर सार्दैमा चौंरी सुरक्षित नहुने भएकाले रोकथामका लागि खोपको व्यवस्था गर्न सदरमुकाम फुङलिङ झरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । ‘अबको खर्क भनेको ओलाङचुङगोला र पापुङको सिद्धिखर्कतिर हो ।

सरुवा रोग भएकाले एउटालाई भेटे गोठै सोतर होला । हाम्रो त अस्तित्व र जीविकोपार्जनको मेलो नै सिद्धिन्छ,’ छेतेनले भने, ‘बचाउन सुरक्षित ठाउँमा लाने र प्राविधिक लगेर रोकथामको विधि अपनाउनुपर्ने भएको छ ।’

संखुवासभाको गुफापोखरी, ताप्लेजुङको पापुङका गोठ हिमालतिर लैजाने बेला भएको ओलाङचुङगोलाका चौंरीपालक नुपु शेर्पाले जनाए । पापुङबाट लुम्बासुम्बा हिमाल फेद हुँदै मौवाटार क्षेत्रमा पुर्‍याइन्छ । यताबाट लगिने चौंरीमा रोग आउने चिन्ता हिमाली क्षेत्रका गोठालालाई छ । ‘उनीहरूलाई केही समय नल्याइदिनुहोस् भनेर अनुरोध गर्ने मनस्थितिमा पनि छौं,’ नुपुले भने ।

भेटेरिनरी अस्पतालका अनुसार ताप्लेजुङमा झापाको बिर्तामोड र सुनसरीको इटहरीबाट खोप ल्याउने गरिएको छ । एउटा खोपलाई १ सय ५० देखि २ सय रुपैयाँसम्म पर्ने प्राविधिक बताउँछन् । गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकलाई विपद् व्यवस्थापनबाट बजेटको व्यवस्था मिलाउन र भ्याक्सिनको व्यवस्था गर्न भनिएको भेटेरिनरी अस्पतालका प्राविधिक माझीको भनाइ छ ।

पशु सेवाविज्ञ केन्द्रबाट मैवाखोला, पाथीभरा याङवकर र आठराई त्रिवेणी गाउँपालिकामा एक/एक सयका दरले भ्याक्सिन सहयोग गरेको माझीले जनाए । चौंरी गोठ भएको क्षेत्रबाट भने अहिलेसम्म सम्पर्कमा नआएको उनको दाबी छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*