आठराई त्रिवेणी र सिदिङ्वाले पहिरो पीडितलाई नगद वितरण
ताप्लेजुङ। एउटालाई परेको पीर मर्कामा अर्कोले सहयोग गर्नु नै मानवता हो, गत असार ३ गते बाढीमा परी ज्यान गुमाएका सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई आठराई त्रिबेणी गाउँपालिकाले राहत स्वरुप नगद नै वितरण गरेको छ । आजआठराई त्रिबेणी गाउँपालिकाका पदाधिकारीले सिदिङ्वा गाउँपालिका पुगेर पीडित परिवारलाई राहत रकम वितरण गरेको हो ।

आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङसहितको टोलीले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजारका दरले वितरण गरेको हो । सिदिङ्वा गाउँपालिकाको कार्यालय साब्लाखु भञ्ज्याङमा पीडित परिवारलाई केन्द्रित गरी राहत रकम वितरण गरिएको आठराई त्रिबेणीका अध्यक्ष पोमुले वेलकमखबरलाई जानकारी दिनुभयो ।

उहाँले पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता हुने छ जनाका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले राहत रकम वितरण गरेको जानकारी दिनुभयो । त्यस्तै आजै राहत रकम सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष कृष्णकुमारी कडरियाले पनि बाढीपहिरोमा परी मृत्यु र बेपत्ता हुनेका परिवारलाई जनही ६० हजार रुपियाँका दरले राहत रकम वितरण गरेको जनाइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र बेघाले जानकार दिनुभयो ।
पहिरोमा परी सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । त्यस्तै सोही स्थानका एकैपरिवारका तीनजना बाढीपहिरोमा परी बेपत्ता हुनुभएको छ ।




















