सर्वदलीय सरकारका लागि तयार छौँ : हिक्मत कार्की

वेलकम खबर
असार १७, २०८०

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । उनले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राखेका छन् ।

‘सर्वदलीय सरकारका विषयमा उहाँहरू (नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन)को (धारणा) के छ मैले बुझ्न पाएको छैन, म त्यसका लागि तयार छु,’ कार्कीले भने, ‘त्यसका लागि सबैभन्दा ठूलो दलबाट प्रारम्भ हुनुपर्‍यो, त्यसपछि सबै दलहरू समावेश भएर जाने बन्नुपर्‍यो, त्यसमा म तयार छु ।’

शुक्रबार कोशी प्रदेशसभामा विश्वासको मत नपाएपछि कार्की पदमुक्त भएका छन् र हाल कामचलाउ हैसियतमा छन् । उनी पदमुक्त भए पनि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छैनन् । प्रदेशसभाको अङ्कगणितका कारण कुनै पनि दललाई बहुमत पुर्‍याउन सहज छैन । कार्कीले आफ्नो सरकारको १०० दिन पुगेको अवसरमा ५ वैशाखमा सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावमा अरु दलहरूले रुचि देखाएनन् ।

कार्कीले आफू अझै सर्वदलीय सरकार गठनको लागि तयार रहेको तर काँग्रेस–माओवादीसहितको गठबन्धन एमालेलाई बाहिर राखेर अघि बढ्न खोजेको बताए ।

‘उहाँहरू ठूलो दललाई बाहिर राखेर जान खोजेकाले यसमा उहाँहरूको रुचि अनुसार हुन्छ’, उनले भने, ‘उहाँहरूले आफ्नो रुची अनुसार अगाडि बढाउनुहुन्छ, हामी प्रमुख प्रतिपक्षी भएर बस्न तयार छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*