काँग्रेस महामन्त्री थापाको “प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने“ प्रस्तावले ल्याएको राजनीतिक तरङ्ग !

वेलकम खबर
असार १३, २०८०

काठमाडौ ।  नेपाली  कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा काँग्रेस महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक तथा विद्यार्थीका बारेमा बाेलेकाे विषयले नेपाली राजनीति तथा संचार क्षेत्रमा चर्चाकाे विषय बनेकाे छ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साे सम्मेलनमा प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेको बताएका थिए । दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।

‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा  रिसाएका छन्।’ थापाले राखेको यो प्रस्ताव पार्टीभित्र औपचारिक रूपमा छलफलमा प्रवेश पाइसकेको छैन। कांग्रेसले विगत ११ महिनादेखि केन्द्रीय समिति बैठक नै राखेको छैन।

त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको ‍औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए। ‘पार्टीभित्र यो बहस किन नगर्ने?, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।

विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।नेविसंघले प्राध्यापक वा शिक्षक कुटेका र कालोमोसो दलेका खबर आउने गरेको भन्दै थापाले यस्ता विषयले आफूलाई चिन्तित बनाउने गरेको बताए।

मेरो कुरा मानेन भनेर म अर्काको शरीरमा गएर मोसो दल्न पाउँछु? कुनै पनि व्यक्ति प्राध्यापक होस् वा कसैलाई पनि होस, मेरो कुरा मानेन, चित्त बुझेन भनेर मैले ऊ माथि गएर आक्रमण गर्न पाउँछु? पाउँदिनँ,’ उनले भने, ‘यो कालो मोसो दल्ने, प्राध्यापक कुट्ने विषयको सन्दर्भमा कुनै किन्तु परन्तु हुँदैन। त्यो गलत हो।’

आफू विद्यार्थी राजनीतिमा क्रियाशील भएका बेला समय फरक रहेको पनि थापा बताउँछन्। ‘म पनि कुनै बेला विद्यार्थी राजनीतिमा थिए। मैले विद्यार्थी राजनीतिमा क्रियाशील भएको समय फरक थियो, राजाको शासन थियो, माओवादीको शासन थियो। बोल्न, हिँड्न्, लेख्न पाउने कुरा प्रतिबन्धित थियो। केही बोल्यो, लेख्यो भने प्रहरीले लगेर थुन्थ्यो। दुई-दुई पटक राज्य द्रोहको मुद्दा खेपे, पचासौँ पटक हिरासत जाने-आउने त स्वाभाविक कुरा भयो,’ उनले भने, ‘पिटाई खाने, लड्ने, भिड्ने कुरा सामान्य कुराहरू भए। प्रतिरोधको राजनीतिको बेला थियो।

त्यो प्रतिरोधको राजनीतिको बेला राजनीतिक माहोल मिलाउनु पर्ने थियो। त्यो राजनीतिको माहोल बनाउने बेलामा कतिपय हामीले केही अभ्यासहरू गर्‍यौँ।’२१ औँ शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले आफ्नो कुरा स्थापित गर्न तालाबन्दी र तोडफोड नगरी सत्याग्रह बस्न तयार हुनुपर्ने थापाले बताए।-kathmandukhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*