भूकम्पले चिरा पारेको जमिनमा पहिरोको जोखिम

वेलकम खबर
असार ८, २०८०

पहिरो नियन्त्रणका लागि जिल्लाको भू–बनोटको विषयमा अध्ययन गर्नुपर्ने, स्थानीय जनतालाई जागरुक गराई अम्रिसो, बाँस लगायतका रुखबिरुवा रोप्नुपर्ने भए पनि त्यस्तो पहल हुन सकिरहेको छैन

ताप्लेजुङ ।  उस्तै भूबनोट, हावापानी, रहनसहन भएका पहाडी तीन जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभाले यस वर्ष वर्षातको सुरुवातमै मानवीय तथा भौतिक क्षति बेहोर्नुपर्‍यो । यसबीचमा पहिरोका कारण तीन जनाको मृत्यु भइसकेको छ र तीन जना बेपत्ता भएका छन् ।

सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार सुरक्षित मानिएका कतिपय बस्ती पनि क्षतिग्रस्त बनिरहँदा यी जिल्लामा यसले थप खतरा निम्त्याएको छ । मानवीय क्षति हुन थालेको पाँच दिनपछि पहिरो प्रभावित क्षेत्र पुगेका अध्यक्ष राईले सुरक्षित ठाउँ कुन हो र कस्तोलाई सुरक्षित मान्ने भनेर ठम्याउन कठिन भएको बताए ।‘भत्किएका घर त क्षति भयो, बाहिरबाट चिटिक्क देखिएका घरको माथिबाट पनि धाँजा फाटेको छ,’ अध्यक्ष राईले भने, ‘बलिया देखिएका घरलाई पनि तलबाट पहिरोले तान्ने अवस्था छ, उनीहरुको घरमात्रै हेरेर कसरी सुरक्षित छौं भन्ने खै !’

एक नगरपालिका र आठ गाउँपालिकामा गरी ६१ वडा रहेको ताप्लेजुङको सिदिङवा ६ मेहेलेमा यस वर्ष तुलनात्मक रुपमा बढी क्षति देखिएको छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा ४९ परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक दिएको छ ।

स्थानीयहरू भने पालिकाको यो सिफारिसबाट आक्रोशित बनेका छन् । पालिकाले पीडितको पहिचान गर्न नसकेको भन्दै गाउँलेहरु आक्रोशित भएपछि पालिका अध्यक्ष राई प्रभावित वडामा पुगेका थिए । यसै वडा निवासी निलगिरि माविका भूगोल विषयका शिक्षक कमल कडरिया आफूले थापा पाएदेखिकै ठूलो वर्षा भएकाले जमिनले थेग्न नसकेको बताउँछन् । ‘यो वर्षको क्षतिको पहिलो कारण चार दिनसम्मको निरन्तर र तीव्र वर्षा हो,’ कडरियाले थपे, ‘दोश्रो चाहिँ यसअघिका भूकम्पले यहाँको जमिनमा धाँजा फटाएको थियो, तिनै धाँजाभित्र पसेको पानीले पहिरो बनाएर बगाएको सजिलै देखिन्छ ।’

पहिला चिराचिरा भएको ठाउँबाट अहिले पहिरो भत्किएको देखिएको पनि कमलले बताए । ‘यहाँको जमिन पनि ग्रेग्राने माटोले बनेको छ, सडक निर्माणको क्रममा स्काइभेटर मेसिनले फालेको माटोले पनि पहिरो बनाउन मद्दत पुर्‍याएको पाइयो,’ कमलले भने ।

तीन/चार दिनसम्म भारी वर्षा हुँदा चट्टानमाथिको पातलो माटोले थेग्न नसकेको स्थानीयहरूको भनाइ छ ।तर जथाभावी सडकभन्दा बढी पहिलेका भूकम्पको क्षति मुख्य कारक मानिएको छ । तुलनात्मक रुपमा उत्तिकै पानी पर्दा पनि पहिलेभन्दा बढी क्षति हुने गरेको स्थानीय अगुवाहरूको भनाइ छ ।

जेष्ठ ३२ गतेदेखि वर्षा भएर कावेली नदीले वितण्डा मच्चाएपछि सिरिजंगा गाउँपालिका ८ याम्फदिनका बासिन्दाहरू भने नदी आसपासको बसोबास सधैंका लागि जोखिमपूर्ण रहेको बताउँछन् । ‘नदी छेउको बसोबास जुनसुकै दिन जोखिममा रहेछ,’ स्थानीय सोम राईले भने ।

तुमिया खोला र कावेली नदी जोडिएको भारदेखि तल्लो थुंगीमको बस्ती सधैंका लागि जोखिमपूर्ण भएको उनले बताए । यो वर्षको बाढीले क्षति पुर्‍याउनुमा निर्माणाधीन सुपर कोवेली हाइड्रो पावर कम्पनी पनि जिम्मेवार रहेको उनको दाबी छ । उसले बनाएको संरचना र खोलामा मेसिन प्रयोग गरेर वालुवा, गिटी, ढुङ्गा निकाल्दा बढी क्षति भएको राई बताउँछन् । कञ्चनजंघा मावि, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय समेतगरी पाँचवटा कार्यालय अहिले पनि जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको ठहर छ । त्यहाँ १० वटा निजी भवन पनि जोखिममा छन् भने एउटा घर पहिरोले पुरेको छ ।

साँघुरिएर आउने कावेली र तुमियाखोला जोडिएको थुम्वा छेउमा पुग्दा फुक्न पाउने र त्यहीँबाट बढी क्षति भएको उनले बताए ।

यस्तै पछिल्लो समय उपभोक्ता समितिले अवैज्ञानिक तरिकाले सडक निर्माण गरेका कारण पनि धेरै ठाउँमा क्षति भएको सुकेटारका ओमप्रकाश राई बताउँछन् । तत्कालीन जिल्ला विकास समितिको सदस्य पदमा रहँदैदेखि वृक्षरोपण, वातावरण संरक्षणमा जुटेका उनले सडकपछि अहिले हाइड्रोपावर कम्पनीहरु अर्को जोखिम बनेको बताए । ‘आफ्नो कम्पनी सुरक्षित गर्न बाढी आएको बेला जम्मा भएको पानी पनि खोलिदिन्छन्,’ राईले भने, ‘त्यसले गर्दा त्यो भन्दा तलको क्षेत्र जोखिममा पर्छ ।’ हिउँदमा खोलै सुकाइदिने र बर्खामा हृवात्तै खोलिदिने प्रवित्ति नियन्त्रण गर्न जरुरी रहेको उनको सुझाव छ ।

‘सडक निर्माणको क्रममा एउटा मूलको पानी अर्कै ठाउँमा पुर्‍याइदिएका छन्, मेसिनको भाइब्रेसनले जमिन हल्लाएर थिलथिलो बनाएको छ,’ राईले थपे, ‘यी सबै पहिरोका कारक बनेका छन् ।’

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण ओझा भने पछिल्लो समय जलवायु परिवर्तनका कारण यस्ता ठूला बाढी पहिरो आउने गरेको बताउँछन् । ‘हिउँ पर्ने बेलामा पानी पर्छ, मनसुन सुरु भयो सामान्य पानी पर्न थाल्छ भनेको बेला बाढी आउँछ यसले ठूलै असर गरेको छ,’ ओझाले भने । उनका अनुसार यस पटक लेकमा अधिक वर्षा भएकाले खोलामा बाढी आएको र त्यसले बढी क्षति पुर्‍याएको ओझा बताउँछन् ।

यस्तै तमोर, कावेली, मेवा, मैवा, तावा, हेवा जस्ता जुनसुकै नदी खोलाको लेकबाट बाढी आएको उनले दाबी गरे । भिरालो जमिन र महाभारत पहाडले निर्मित भूभाग रहेकाले वर्षायाममा जमिन कटान भई भूक्षय हुने गरेको यहाँका पाका स्थानीयहरू बताउँछन् । पहिला ठूला, लामा पहिरो जाने भए पनि पछिल्ला वर्ष स–साना पहिरोले पनि मानवीय क्षति ठूलो गराएको प्रतिनिधिसभाका सांसद उर्मिला थेवे बताउँछिन् । उनको कर्मस्थल सिरिजंगा गाउँपालिका १ सिनाम पनि पहिरोबाट अति प्रभावित क्षेत्र हो । वि सं १९७१ र २०४६ असोज २ गतेको पहिरोले सिनाममा २८ जनाको ज्यान लिएको थियो ।

१९८२ सालदेखि सुरु भएर अहिलेसम्म पनि असर पुर्‍याइरहेका पहिरोहरु जिल्लामा प्रसस्तै छन् । देशभर अहिलेसम्मकै ठूलो पहिरोको रुपमा परिचित सदरमुकाम फुङलिङसँग जोडिएको हाङदेवाको हिरिया र चिनेवा पहिरोले सयौं परिवारलाई विस्थापित बनायो । यो पहिरोमा अहिले पनि मनिसहरुले खेती बाली लगाउन सकेका छैनन् । नाङखोल्याङ, सिनाम, लिंखिम, फुरुम्वू, आंखोप, निगुरादिन, फूलबारी, याम्फुदिन, तापेथोक, थुम्वेदिनका पहिरो ठूला पहिरोको रुपमा भिनिएका छन् । खोलाखोल्सी र पानी हुने ठाउँमा लगाइने अलैंची पनि यी पहिरोमा उम्रिन सकेका छैनन् ।

पहिरो नियन्त्रणका लागि जिल्लाको भू–बनोटको विषयमा अध्ययन गर्नुपर्ने, स्थानीय जनतालाई जागरुक गराई अम्रिसो, बाँस लगायतका रुखबिरुवा रोप्नुपर्ने भए पनि त्यस्ता पहल हुन नसकेको तत्कालीन संविधानसभाका सभासद सञ्चपाल मादेन बताउँछन् ।

‘म सांसदीय समितिको सदस्य हुँदा बल्लतल्ल टोली ल्याएर हाङदेवा पहिरोको अध्ययन गराएँ,’ उनले भने, ‘त्यसपछि फेरि अन्य क्षेत्रको कहीँकतै अध्ययन भएकै छैन ।’

राज्यको श्रोत साधनले पुर्‍याउन कठिन भएर पनि अध्ययनमा ध्यान नदिइएको उनको बुझाइ छ । पहाडको बस्ती एकीकृत नगरेसम्म मानवीय क्षति कम गर्न नसकिने मादेन बताउँछन् । तर दैनिक काम गरेर खानुपर्ने मानिसहरूलाई एकान्तमा लगेर खार्दा बस्न नमान्ने भएकाले एकीकृत बस्तीसँगै आयआर्जनको पाटो हुनुपर्ने उनी बताउँछन् । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम मैवाखोला ४ ओदक र ताम्राङका बासिन्दा असुरक्षित रहेको तर सर्न पनि नमानेको बताउँछन् ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*