दोभानदेखि मेरिङदेनसम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई गौरवको योजनाका रूपमा लिइएको जनाएको छ। कालोपत्रका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। उक्त सडक खण्डको स्तरोन्नतिका लागि संघीय सरकारलेसमेत केही बजेट दिएकाले मद्दत मिलेको हो।
अपुग बजेट व्यवस्थापनका लागि पुनः संघ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले बताए। सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो।
यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिका भित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवतजावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ।
यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ। शेर्पा समुदायको बाहुल्यत रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ। गाउँपालिकाले १३औं गाउँसमामार्फत बिहीबार ४४ करोड पाँच लाख ८३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजानिक गरेको थियो।