अढाई वर्षकी छोरीसहित एक परिवार ५ दिनदेखि ओढारमा

रासस
असार ४, २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन् । सधैं बस्दै आएको याक्सा (गोठ) नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओढारमा गएर आश्रय लिएका हुन् ।

गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताए ।

‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दैथियो, हामी सुरक्षित भएर ओढारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर होकी फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, नत उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ’, चेतमायाले फोनमा भनिन् ।

पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ । आलुखेतीसमेत पहिरोले बगाएको उनले बताए । घरतर्फ आउन विभिन्न तीन वटा खोला खोल्सा तर्नुपर्छ ।

तीनवटै खोलाका पुल बाढीले बगाएको छ । पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो । अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ छ ।

वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो ।

शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जान सकेन । उद्धारमा समस्या भएकाले सहयोग पुर्‍याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*