ताप्लेजुङ पहिरो अपडेट : १ को मृत्यु, ३ बेपत्ता, ५१ घर जोखिममा (क्षतिको पूर्ण विवरण सहित)

ताप्लेजुङ । अविरल वर्षा सॅगैको पहिरोले सिदिङवा गाउॅपालिका ६ मेहेलेका ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ । शनिबार राति पानी पर्न थालेपछि आमाबुबासहित परिवारलाई सुरक्षित ठाउॅमा लैजाने क्रममा उनको पहिरोमा परी मृत्यु भएको हो ।
शनिबार बेलुकादेखि बेपत्ता उनको शव आइतबार बिहान भेटिएको थियो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चोङवाङका अनुसार यसै वडाका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र नौ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता रहेका छन् । प्रहरी र स्थानीयद्वारा उनीहरुको खोजी जारी छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ५१ घर जोखिममा रहेका छन् । पक्की पुल तीन र झोलुङगे पुल पाँच वटामा क्षति पुगेको छ । गाई ५, भैँसी २, बाख्रा ८ वटा पहिरोले बगाएको विपद् व्यवस्थापन समितिले जनाएको छ । २ वटा हाइड्रो पावर, ७ वटा सरकारी कार्यालय, १ विद्यालय र ५ वटा बाटो अवरुद्ध भएको पनि तथ्यांकमा उल्लेख छ ।
प्रजिअ चोङवाङका अनुसार सिदिङवा, सिरिजंगा, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा क्षति भएको हो । पहिरोले सिदिङवा गाउॅपालिका ६ को स्वास्थ्य चौकी बगाएको छ । गाउॅपालिका उपाध्यक्ष कृष्णकुमारी (वन्दना) कडरियाका अनुसार स्वास्थ्यचौकी पूर्ण रुपमा क्षति भएकाले वडा कार्यालयमा राखेर चलाउने प्रयास भइरहेको छ ।