अलैंची उत्पादन ४० प्रतिशतसम्म घट्ने

मुख्य कारण खडेरी र रोगकिरा, पुरानो अलैंची पनि मौज्दात नहुँदा माग धान्न मुस्किल पर्न सक्ने
वेलकम खबर
असार ३, २०८०

ताप्लेजङ । नेपालमा यस वर्ष अलैंची उत्पादन झन्डै आधाले घट्ने देखिएको छ । अलैंची व्यवसायी महासंघले गरेको प्रारम्भिक सर्भेक्षणअनुसार उत्पादन ४० प्रतिशत घट्ने देखिएको हो । खडेरी र रोगकिराका कारण उत्पादन ४० प्रतिशत निश्चित घट्ने र ५० प्रतिशतसम्म पुग्ने महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको दाबी छ ।

खडेरीले औल क्षेत्रको अलैंची पूरै बिग्रिएको छ,’ उनले भने, ‘लेकाली क्षेत्रमा फूल फुले पनि दाना नलागेका कारण उत्पादन घट्ने भएको हो ।’ अघिल्ला वर्षको सञ्चित अलैंचीसमेत बिक्री भइसकेकाले अब माग बढेर आए पनि बिक्री गर्नलाई सामान नहुने उनको भनाइ छ । यति बेला झापाको बिर्तामोडमा ठूलो दाना भएको र पुच्छर काटेको अलैंची प्रतिमन ३७ हजार र सामान्य अलैंची ३५ हजारमा बिक्री भइरहेको छ ।

जिल्लामा अलैंची खेती सुरु भएको र ४३ जिल्लाबाट व्यावसायिक उत्पादन भइरहेको महासंघका कार्यकारी अधिकृत अनील ढुंगानाले बताए । ४३ मध्ये सबैभन्दा बढी उत्पादन ताप्लेजुङबाट हुॅदै आएको छ । तर ताप्लेजुङमै भने यस वर्ष ६० प्रतिशत उत्पादन घट्ने अलैंची जोन ताप्लेजुङका अध्यक्ष बालमणि बरालको भनाइ छ ।

‘लेकतिर किराले खायो, औलतिर खडेरीले, कहाँबाट उत्पादन हुनु ?’ बरालले भने, ‘हाम्रो चाहिँ सबैभन्दा बढी उत्पादनको सूचीबाट हट्न सक्छ ।’ ताप्लेजुङले वार्षिक २९ सय टनसम्म अलैंची उत्पादन गर्दै आएको कृषि जोनको तथ्यांक छ । अलैंची व्यवसायी भने ३१ सय टनसम्म उत्पादन हुने दाबी गर्छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलाबाहेक सबै वडामा अलैंची खेती हुने गरेको छ ।

अलैंची उत्पादन बढाउन रोगकिरा नियन्त्रण र सिँचाइमा ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । हरेक किसानलाई जैविक विषादी बनाउन सिकाउनुपर्ने फक्ताङलुङ गाउॅपालिका–४ इखावुका कृष्ण लावुङको भनाइ छ । अलैंचीको रोगकिरा नियन्त्रणका लागि रासायनिक विषादी प्रयोग गर्न नमिल्ने भएकाले किसानले जैविक विषादी प्रयोग गर्दै आएका छन् । तितेपाती, गाईको गहुँतलगायत प्रयोगबाट जैविक विषादी बनाइन्छ । अलैंची जोनले भने फुङलिङ नगरपालिका–९ हाङदेवा, फक्ताङलुङ–३, लिंखिम र फुङलिङ–६ लेलेपमा जैविक विषादीमा सहयोग पुर्‍याएको बराल बताउँछन् ।साउनदेखि फल टिप्न सुरु हुने अलैंची मंसिरसम्ममा उत्पादन भइसक्छ । पानीको स्रोत भएको ओसिलो जुनसुकै क्षेत्रमा लाग्ने भएकाले किसानले यसमा लगानी गरेका थिए । ०७२/७३ मा यसको मूल्य किसानले नै प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म पनि पाएका थिए । पछिल्ला वर्ष ५० हजारभन्दा बढी नपुगेकाले पनि किसानलाई अलैंची खेतीप्रति निराशा बढेको, त्यसमा पनि रोगकिरा र मौसमले प्रभाव पारेको व्यवसायीको भनाइ छ । नेपालबाट भारत हुँदै पाकिस्तान र खाडी मुलुकका साउदी, कतार, दुबईसम्म पुग्ने अलैंचीबाट औषधि, मसलालगायत सामग्री उत्पादन हुने गरेको व्यवसायी बताउँछन् । अलैंचीसम्बद्ध विभिन्न निकायले गरेको सर्वेक्षणअनुसार नेपालमा ३५ हजार टनसम्म उत्पादन गर्न सकिने भए पनि खेती प्रणाली बढाउन नसकिएको भट्टराईले जनाए । सरकारले अलैंचीमा खासै लगानी नगरेको र उत्पादनमा पनि उत्साह नभएका कारण प्रक्षेपणअनुसारको उत्पादन नहुने महासंघको निष्कर्ष छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*