ताप्लेजुङ र पाँचथर पहिरो : एकै परिवारको तीन सहित १० जना बेपत्ता,हेवाखोलाको पूल पनि बगायो
ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् भने पाँचथरमा ६ जना बेपत्ता भएका छन् . ।
गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका(६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।
यता पाँचथर अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए । त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । बेपत्ताहरूको नाम खुल्न बाँकी छ ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरका विभिन्न ठाउँमा पशुभाउ पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।
यता गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ । बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्याएको थियो । बाढी पहिरोले सुरुमखिम(खेवाङ(याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।



















