फक्ताङ्लुङका चार विद्यालय उत्कृष्ट बन्यो

उत्कृष्ट विद्यार्थी र शिक्षक पनि पुरस्कृत
वेलकम खबर
जेष्ठ २३, २०८०

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यालय,शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
शैक्षिक क्षेत्रबाट विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका विद्यालय,शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
विद्यालयको तर्फबाट प्रधानाध्यापकतर्फ रानी आधारभूत विद्यालयका प्रेमप्रसाद खतिवडा, सरस्वती माध्यमिक विद्यालयका चन्द्रमणि लिम्बू, सुनदेवी माध्यमिक विद्यालयका विशाल राई र सिंवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमलाई पालिका अध्यक्ष राजन लिम्बुले सम्मानित गर्नु भएको हो ।
त्यस्तै जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा कक्षा ८ तर्फ विनिता तामाङ र टेकहाङ लाबुङ रहनुभएको छ । उहाँहरुलाई जनही २० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । यस्तै, कक्षा १० तर्फ सामना चौलागाईं र विकेन्द्र लिम्बू पुरस्कृत हुनुभएको छ । उहाँलाई जनही २५ हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ ।

कक्षा १२ तर्फ भने धनकुमार पौडेल र प्रदिप लिम्बू पुरस्कृत हुनुभएको छ । पौडेल र लिम्बूलाई जनही ३० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष रवीन लिम्बूले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट शिक्षकतर्फ गणेश प्राथमिक विद्यालयकी चन्द्रा कार्की थापा, सावित्री आधारभूत विद्यालयका मिङ्माठिले शेर्पा, महेन्द्र आधारभूत विद्यालयकी समीक्षा ढुङ्गाना, सरस्वती आधारभूत विद्यालयका राजकुमार राई पुरस्कृत हुनुभएको छ । सेवालुङ माध्यमिक विद्यालयकी सरस्वती लिम्बू, सरस्वती माध्यमिक विद्यालयका विप्लव भट्टराई पनि उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ ।

पालिकाभरिको उत्कृष्ट विद्यालयको रुपमा रानी आधारभूत विद्यालय फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ४ इखाबुलाई सम्मान गरिएको छ । पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको हो । सम्मानको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*