इजलासमा सरकारी वकिल– ‘चितवनबाट गिरोहका सदस्यले सरकारी गाडीमा दुई बोरा पैसा ल्याएछन्’
काठमाडौं । शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवारसम्मको समय दिएका छन् ।
आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भएको बिएबी–१४०५ नम्बरको निशान पट्रोल जिपमा गिरोहले चितवनबाट दुई बोरा पैसा ल्याएको इजलासमा सुनाए । ‘सन्देश शर्माले बायोमेट्री गराउन बोलाएर पीडितहरूसँग उठाएर दुई बोरा पैसा ल्याएको देखिन्छ’ खत्रीले इजलासमा भने–‘श्रीमान्, प्रहरीको बर्दिबाल चालकले सरकारी गाडीमा ल्याएर दुई बोरा पैसा ललितपुरको महालक्ष्मी स्थानमा लगेर झारेको भेटियो ।’
खत्रीलाई न्यायाधीशले सोधे–‘त्यहाँबाट त्यो पैसा कहाँ गयो ?’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘त्यसपछि सो रकम सङ्गठित समूहमा गइहाल्यो नि, श्रीमान् ।’
इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । सो गाडी नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउने गिरोहका सदस्य सन्देश शर्मालाई दिएको अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
शरणार्थीको नामा ठग्ने समूहका मुख्य योजनाकार सानु भण्डारीले बैङ्क खातामा ३४ पटक करोडौं रुपैयाँ राख्ने र झिक्ने गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला महान्यायाधिवक्ता खत्रीले बताए । बहसमा खत्रीले भने– ‘सो रकम जग्गा कारोबारको हैन, पीडितहरूका पैसा हुन् श्रीमान् ।’
‘चौँरी गोठालाको पैसा पनि खाए’
पूर्व सभासद् आङटावा शेर्पाले दोलखाका चौँरी चराउनेहरुको पैसा शरणार्थी कोटामा अमेरिका पठाउने नाममा खाएको सरकारी वकिलले जिकिर गरेका छन् । रामेछापबाट २०७० मा चुनाव जितेका शेर्पाविरुद्ध दोलखाका ६ जनाले जाहेरी दिएका छन् । ‘दोलखाका चौँरी चराउनेहरूलाई चौँरी बेच्न लगाएर पैसा उठाएको देखिन्छ’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘आङटावाले ५४ लाख हिनामिना गरेको जाहेरी आएको छ ।’
पूर्व गृहमन्त्री बालकृष्ण खाणको नाम बयानमा नलिन आङटावाले सानु भण्डारीलाई हिरासतमा भेटेर उनका दाई राजु भण्डारीसँग ३० लाखको कागज गरेका छन् । शेर्पा र भण्डारीबीच भएको कागज विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको खत्रीले जिकिर गरेका छन् ।



















