मैवाखोला दुधमा आत्मनिर्भर बन्ने दिशातर्फ, गाउँमै डेरी खुलेपछि कृषक हर्षित

वेलकम खबर
जेष्ठ १९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको सहयोगमा गाउँमै दुध डेरी उद्योग स्थापना भएपछि कृषकहरु उत्साहित भएका छन् । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको ८ लाख रुपैयाँ लगानीमा आजबाट तेल्लाबुङ दुध डेरी औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
आज एक कार्यक्रमका बीच पालिका अध्यक्ष विजयप्रकाश वनेमले डेरीको उद्घाटन गरे । आफूहरु निर्वाचित भएदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले डेरी सञ्चालनमा आएपछि पशुपालक कृषकलाई फाइदा पुग्ने बताए । यसले कृषकहरुलाई पशुपालनमा लाग्न प्रेरणा मिल्ने उनको भनाई छ ।
मैवाखोला–१ तेल्लाबुङमा स्थापना भएको डेरी स्थानीय जीवन खतिवडाले सञ्चालनमा ल्याएका छन् । यसअघि चालु आर्थिक वर्षको बजेटमा मैवाखोला–१ वडा कार्यालयले कृषकहरुलाई जर्सी तथा होलिस्टेन गाई अनुदानमा वितरण गरेको थियो । जर्सी गाई ५० प्रतिशत र होलिस्टेन ६० प्रतिशत साझेदारीमा १३ जना कृषकलाई वितरण गरिएको वडाध्यक्ष चन्द्रकुमार तामाङले बताए ।
यसअघि दुध बिक्री नभएर समस्यामा परेका स्थानीय वेधनिधि भट्टराई डेरी स्थापना भएपछि हर्षित छन् । ‘पहिले दुध बिक्री हुँदैन थियो, अहिले प्रतिलिटर ६० रुपैयाँमा दुध बिक्री हुन थालेको छ’ उनले भने, ‘गाउँमै दुध बिक्री गरेर आम्दानी लिन सकियो ।’ भट्टराई जस्तै स्थानीय विजय तामाङ, केशब बराइली, प्रेमराज लिम्बूलगायत दुध उत्पादक कृषकलाई डेरी खुलेपछि उत्साह थपिएको छ ।
‘मैवाखोलामै पहिलो पटक डेरी स्थापना गरेका छौँ’ गाउँपालिकाका प्रवक्ता समेत रहेको वडाध्यक्ष चन्द्रकुमार तामाङले भने, ‘डेरीमा संकलित दुधबाट छुर्पी, मिठाइ, घिउ लगायत उत्पादन गरिने छ ।’ डेरी स्थापनाको प्रारम्भिक चरणमा दैनिक १ सयदेखि १५० लिटर दुध संकलन हुने वडाध्यक्ष तामाङले बताए ।nepaliportal

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*