के छ राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा? (पूर्णपाठ)

वेलकम खबर
जेष्ठ १९, २०८०

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ।

राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ।

उनीहरूले १६ वर्ष उमेर पूरा गरेपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था ऐनमा राखिएको छ।

२०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा उल्लेख छ।

त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा व्यवस्था छ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिका हकमा नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ।

बाबुको पहिचान नभएर वंशजको नागरिकता लिएको छ र बाबु विदेशी ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ।

त्यस्तो व्यक्तिले पितृत्वको नागरिकताका आधारमा विदेशी नागरिकता नलिएको स्वघोषणा गरी र वंशजको आधारमा लिएको नागरिकता बुझाए अङ्गीकृत नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा उल्लेख छ।

नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नयाँ कानुनमा छ।

यसरी गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण पत्र पेश गर्नुपर्नेछ।

सम्बन्धित व्यक्तिले नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धता पत्र आदि बुझाएर गैर आवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था नयाँ कानुनमा छ।

त्यस्तै साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
पूर्णपाठ

https://drive.google.com/file/d/1zXINAYbu1_4sPlRZWf3dVCVPz-DK6M3v/view

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*