बिहे अघि नै १२ पास गर्नेलाई २० हजार!

वेलकम खबर
जेष्ठ १८, २०८०

हेटौडा । मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार नगद हस्तान्तरण गरेको छ।गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताए।

उनका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको छ।गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए।

देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उहाँको भनाइ छ। अध्यक्ष मुक्तानले भने, ‘गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ।’

सम्मानित छात्रा सरुया प्रजाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताए।

कैलाश–६ की सङ्गीता ढुङ्गानाले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने कारण खुसी व्यक्त गरे।यस्ता कार्यक्रमले पढ्न मद्दत मिल्नुका साथै विवाह गर्नुभन्दा शिक्षा लिनु ठीक हुनेजस्तो लाग्ने गरेको उनको भनाइ छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*