एमाले केन्द्रिय कमिटी बैठक : २०८४ मा पहिलो शक्ति बन्नेगरी कार्य योजना बनाउने

वेलकम खबर
बैशाख २९, २०८०

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ ।

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिईरहेका छन । सोही सुझावको आधारमा भोली (शनिबार) बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रिय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताउनु भयो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नु भएको छ ।सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन ।

उपप्रमुख रिजालले भन्नु भयो, ‘हामीले ८ वटा समूहमा बिभाजन गरेर, ती रिर्पोटहरुमाथि आधारित भएर आ–आफ्नो प्रदेशका के कस्ता कार्ययोजनाहरु हुन सक्छन ? वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेशागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौं । त्यसमा उहाँहरुले घनिभूत ढंगले छलफल गरिरहनु भएको छ । साथै हाम्रो पार्टीको केन्द्रको तर्फबाट महासचिव कमरेड शंकर पोखरेलले आगामी कार्ययोजनाका सन्दर्भमा केही मोटामोटी मार्गदर्शनहरु प्रस्तुत गर्नु भएको छ । केही प्रश्नहरु केन्द्रिय सदस्यहरुलाई सोध्नु भएको छ । ती प्रश्नहरुमा समेत आधारित भएर आ–आफ्नो प्रदेशका विशेषताका आधारमा पार्टीका योजना निर्माणका लागि प्रत्येक प्रदेशबाट सुझावहरु प्राप्त हुनेछन । र, ती सबै सुझावहरुलाई ध्यानमा राखेर ८ वटै टोलीका तर्फबाट सुझावहरु प्रस्तुत भएपछि ती सुझावहरुलाई ध्यानमा राखेर भोली बिहान हाम्रो पार्टीको स्थायी कमिटी बैठक बस्नेछ । त्यसमा प्राप्त सुझावहरुलाई समेत विश्लेषण गर्दै पार्टीको केन्द्रिय नेतृत्वले सोचेका योजनाहरुमा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ । र, भोली बस्ने केन्द्रिय कमिटी बैठकमा २०८० जेठदेखि २०८० चैत्रसम्म नेकपा एमालेले देशभरी के, कस्ता कार्यक्रम गर्छ, प्रवास तथा जनसंगठनहरुमा समेत के कस्ता कार्यक्रमहरु गर्छ ? हामीले त्यसको खाका तयार गर्नेछौं । त्यसलाई केन्द्रिय कमिटीबाट पारित गरेर एउटै लय, एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिंगो केन्द्रिय कमिटी परिचालित हुनेछ । र, नेकपा एमालेलाई जनताको रोजाईको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टी पंक्तिको परिचालनलाई हामीले विशेष जोड दिनेछौं । त्यसमा हाम्रो पार्टीको यो बैठक केन्द्रित भएको छ ।’

बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रिय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरु तथा प्रदेश कमिटीहरुले प्र्रस्तुत गरेको मिशन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो । शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*