एमालेले ‘देशैभरि–छोराछोरी’ अभियान सुरु गर्ने

वेलकम खबर
बैशाख २९, २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘मिसन ग्रासरुट’ सम्पन्न गर्दै ‘देशैभरि–छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरूट कार्यक्रम’ समीक्षा गर्दै देशैभरि छोराछोरी र भावी वडा नेता कार्यक्रम सञ्चालन गर्ने छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।

एमालेले आयोजना गरेको मिसन ग्रासरूटका कार्यक्रममा युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै दुईमहिने अभियानमा युवाको आकर्षण घटिरहेको देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘अहिलेका युवाहरू’ आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । यसलाई कसरी सम्बोधन गर्ने ? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं ?’ अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टी संरचनामा पाका नेता÷कार्यकर्ताको संख्या अति कम देखिएको प्रतिवेदनमा उल्लेख छ । औसत उमेर ४५ को हाराहारीमा देखिएकाले ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् । अभियानका क्रममा युवाको खोजी भएको उल्लेख गर्दै उनीहरूलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ ।

नेता–कार्यकर्ताकै छोराछोरी पार्टीमा नजोडिएको कुरालाई सम्बोधन गर्ने ‘देशैभरि–छोराछोरी’ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको हो । एमालेले १० वैशाखमा सम्पन्न तीन क्षेत्रको उपनिर्वाचनको समीक्षा गर्दै संख्यात्मक नभए पनि गुणात्मक हानि पार्टीले बेहोरेको उल्लेख छ ।

उपनिर्वाचन भएका क्षेत्रमा मंसिर ४ भन्दा मत घट्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै उनको प्रतिवेदनमा भनिएको छ, ‘संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि पार्टीको मतमा उल्लेखनीय मतको कमी आउनु चिन्ताको विषय हो ।’

मंसिरमा सम्पन्न आमनिर्वाचनका तुलनामा उपनिर्वाचनमा मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर समीक्षाको विषय भएको बताइएको छ । यस विषयमा सम्बन्धित प्रदेश र क्षेत्रले समीक्षा गर्नुपर्ने ओलीको भनाइ रहेको छ ।

अध्यक्ष ओलीले सत्तापक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको आरोप लगाउँदै उल्लेख गरेका छन्, ‘सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ । राष्ट्रिय महत्वका विषयमा नीतिगत सहमति खोज्ने होइन, मिलिजुली सत्ताभोग र दोहन गर्ने उद्देश्यले हुने यस्ता गठबन्धनले राजनीतिलाई थप विकृत बनाइरहेको छ ।’

अध्यक्ष ओलीले २०७८ सालमा सर्वोच्च अदालतको फैसलाबाट गलत बाटोमा अघि बढेको देशलाई आमनिर्वाचनपछि फेरि नयाँ कोर्समा लैजाने प्रयास भए पनि त्यो प्रयास असफल भएको बताएका छन् ।

उनले माओवादी केन्द्रको चरित्रबाट एमाले अपरिचित नरहेको दाबी गर्दै यसपटकबाट माओवादीको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको बताएका छन् ।

३ सय नक्कली शरणार्थी
अध्यक्ष ओलीले १ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा ३ सय जना नक्कली शरणार्थीलाई घुसाइएको दाबी गरेका छन् । ३ सय जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यस’bout संसद्मा बोल्ने ओलीको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको दाबी उनले गरेका छन् । त्यस विषयमा अब ४ जेठमा बस्ने संसद् बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने ओलीले जनाएका छन् ।

सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थी झापा र मोरङका विभिन्न शिविरमा थिए । स्वदेश फिर्तीको पर्खाइमा रहेका १ लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान नभएपछि तेस्रो मुलुक पठाउने योजना अघि सारिएको थियो ।

उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीको पुनर्वास गरिएको थियो ।

‘यसरी अमेरिका पठाएमध्ये केही व्यक्ति नक्कली थिए । यो कार्य कुन सरकारको पालामा भएको थियो ? यसमा केही सूचना प्राप्त भएको छ । थप संसद्मै जानकारी गराउँनेछु’ ओलीले भने ।

नक्कली शरणार्थी प्रकरणमा आफ्नै पार्टीमा रहेका व्यक्ति र हिजो आफ्नै सरकारमा रहेका मानिसको नाम आएको भन्दै जोसुकैको नाम आओस् दोषी रहेछ भने कारबाही हुनुपर्ने उनले बताए ।

सरकारले रोक्न नसक्नेगरी सतहमा आएपछि यो प्रकरण सार्वजनिक भएको दाबी गर्दै उनले भने, ‘भ्रष्टाचार विभिन्न ठाउँमा भइरहेको छ । त्यसको ढाकछोप गर्ने र नबोल्ने हुँदै आएको छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउनु नै गलत हो भन्ने जस्तो भएको छ ।’

नक्कली शरणार्थी प्रकरण अहिले रोक्न नसकिने गरी यस्तो परिस्थिति आयो, जसले भ्रष्टाचार सतहमा आएको दाबी उनले गरे । नक्कली शरणार्थी प्रकरण जेसुकै गरे पनि कसैले रोक्न नसक्ने भएपछि सतहमा आएको ओलीको दाबी छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*