विद्रोहको तयारीमा थापा–शर्मा

१७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा
वेलकम खबर
बैशाख २६, २०८०

काठमाडौँ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् ।

देउवा सभापति निर्वाचित भएको १७ महिनाको अवधिमा नेतृत्वले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्माले पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाट राजीनामा दिने मनस्थितिसमेत बनाएका छन् । पछिल्लो पटक मन्त्री छनोटको विषयलाई लिएर चिढिएका महामन्त्रीद्वयले आइन्दा नेतृत्वले गर्न नसकेका र गरेका गलत कामको भारी आफूहरूले नबोक्ने भन्दै वैशाख २२ मा धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमै देउवालाई चेतावनी दिएका थिए ।स्रोतका अनुसार देउवाले एकलौटी निर्णय गरेको भन्दै महामन्त्री थापाले आफ्नै हिसाबले अघि बढ्ने चेतावनी पदाधिकारी बैठकमा दिएका थिए । ‘तपाईंले कुनै कुरामा सहभागी गराउनुभएको छैन, अनावश्यक कुराको भारीबोक्दैनौं,’ थापाले भनेका थिए, ‘तरुण दल, महिला संघ, नेविसंघ र राष्ट्रिय सभाको उम्मेदवारीजस्ता सारा विषयमा एक्लै निर्णय गर्नुभयो, तपाईंले कुनचाहिँ कुरामा सल्लाह गर्नुभएको छ रु हामी निर्वाचित महामन्त्री हौं तर महामन्त्रीजस्तो व्यवहार गर्नुभएको छ रु जे गर्नुपर्छ, म आफ्नो हिसाबले गर्छु ।’ थापाले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सभापतिलाई लक्षित गर्दै आक्रोशपूर्ण ट्वीट गरेका छन् । जसमा पार्टीभित्रै विद्रोह गर्ने संकेत गरेका छन् ।

अर्का महामन्त्री शर्माले पदाधिकारी बैठकमै पार्टीमा आमूल परिवर्तन हुने संकेत नपाएको भन्दै सभापतिलाई अझै सहजता चाहिएको हो भने आफूले महामन्त्री पदबाटै राजीनामा दिने बताएका थिए । दोस्रो कार्यकाल सम्हालेको १७ महिनासम्म महामन्त्रीको भूमिका र हैसियतलाई नजरअन्दाज गर्दै आएका देउवाले पछिल्लो पटक मन्त्री छनोटमा समेत बाइपास गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १७ मा गरेको मन्त्रिपरिषद् विस्तारमा देउवाले आफ्नो समूहबाट मात्रै ५ जना मन्त्री पठाएका थिए । संस्थापनबाट पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री भएका छन् । शेखर कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बूको नाम मन्त्री बन्ने सूचीमा थियो । त्यसका लागि देउवाले कोइरालासँग सहमति पनि लिएका थिए । तर, महामन्त्री थापाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई सम्मानजनक सहभागिता गराउनुपर्ने विषय उठाएर विरोध गरेपछि तत्काल मन्त्री नियुक्ति रोकियो । त्यसपछि वैशाख ३ मा एनपी सावद परराष्ट्रमन्त्री बनाइए ।
तेस्रो पटक वैशाख २० मा पहिल्यै भएको समझदारीअनुसार कोइराला पक्षबाट उपसभापति गुरुङ र लिम्बूलाई सरकारमा पठाइयो । उनीहरूले क्रमशः कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । चौथो पटक वैशाख २४ मा राष्ट्रपति रामचन्द्र पौडेलनिकट सुरेन्द्र आचार्यलाई मन्त्री बनाइएको छ ।

महामन्त्रीद्वयले मन्त्री छनोट गर्दा पार्टीभित्र समावेशी, क्षेत्रीयता र काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने अडान राखेका थिए । थापाले आफ्नो समूहबाट सहमहामन्त्री बद्री पाण्डे, अर्का सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य प्रदीप पौडेलमध्येबाट एक जना मन्त्री हुनुपर्ने अडान लिँदै आएका थिए । देउवाले उनको प्रस्तावमा मात्रै नभएर उनीनिकट रहेका सांसदहरूप्रति समेत पूर्वाग्रह देखाउन थालेको थापाको बुझाइ छ ।

कांग्रेसले पाएको ९ मन्त्रालयमा देउवाले आफ्नो पक्षबाट ६, शेखर कोइराला पक्षबाट २ र राष्ट्रपतिनिकट १ जनालाई मन्त्री बनाउँदा महामन्त्रीद्वयको रोजाइमा परेका कोही पनि परेनन् । मन्त्री नपाएका मात्रै होइन, उनीहरूलाई मन्त्री बनाइएको विषय जानकारीसमेत कसैबाट भएन । देउवाले मात्रै होइन, आफ्नै टिमबाट नेता कोइरालाले समेत छलफल र परामर्श गर्न आवश्यक नठानेको भन्दै थापा असन्तुष्ट छन् । वैशाख १९ मा देउवासँग परामर्श गरेर कोइराला सिंगापुर प्रस्थान गरे । त्यसको भोलिपल्टै देउवाले कोइरालाको पक्षबाट दुई जना मन्त्री नियुक्ति गरेका थिए । पार्टीभित्र सम्भावना बोकका दुई महामन्त्रीको भविष्य नै सिध्याउन खोजेको बुझाइ थापानिकट नेताहरूको छ । ‘पटक–पटक अपमान गर्ने र महामन्त्रीको अस्तित्वलाई समेत स्वीकार नगरेर एकलौटी ढंगले पेल्न थालेपछि थापा र शर्माले नेतृत्वकै विरुद्ध आन्तरिक संघर्ष अघि बढाउने बाटो लिएका हुन्,’ एक केन्द्रीय सदस्यले भने ।

१४ औं महाधिवेशनमा थापाले शेखर नेतृत्वको समूहबाट लोकप्रिय मतका साथ महामन्त्री जितेका हुन् । शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री जिते पनि पछिल्लो समय उनी कुनै गुटमा सामेल छैनन् । राष्ट्रिय राजनीतिदेखि पार्टीका एजेन्डा र कार्यक्रममा भने उनी अर्का महामन्त्री थापासँगै छन् । पछिल्लो प्रकरणमा पनि थापा र शर्मा एकै ठाउँमा उभिएका छन् । उनीहरूसँगै देउवा समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका केन्द्रीय सदस्य प्रदीप पौडेल जोडिएका छन् ।

थापाले आफ्नै समूहका नेता शेखर कोइरालाबाट समेत धोका पाउने गरेको गुनासो गर्न थालेका छन् । ‘एकातिर नेतृत्वले पेल्ने, अर्कोतिर टिमकै नेताले समेत सरसल्लाह गर्न छाडेपछि थापा अब आफ्नै समूह बनाउनुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ,’ थापानिकट एक केन्द्रीय सदस्यले भने । पार्टीका चुनौतीपूर्ण घडीमा महामन्त्रीलाई अघि सार्ने तर सत्ता र राजकीय मामिला आउनासाथ सभापतिले एकलौटी गर्ने गरेको गुनासो पनि महामन्त्रीद्वयको छ ।

महामन्त्री शर्माले पार्टी रूपान्तरणका लागि एक ढंगको जागरण सुरु गर्ने बताए । ‘धेरै विषयवस्तु छन्, अहिले बाहिर बोल्नुभन्दा हामी भित्री तयारीमा लागेका छौं,’ उनले भने । देउवाप्रति आक्रोशित हुने परिस्थिति तत्काललाई मन्त्री छनोटको विषय बने पनि यसको पृष्ठभूमिमा पार्टीले लिने कार्यदिशा र गर्नुपर्ने कामका कैयन् फेहरिस्त जोडिएका छन् । देउवाले नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दलको नेतृत्व चयन र केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयन गर्दा महामन्त्रीलाई जानकारी गराएका थिएनन् । गठबन्धन निर्माण, टिकट वितरणदेखि मन्त्रिपरिषद् विस्तारसम्मका घटनाक्रमले अहिलेको परिस्थिति निर्माण गरेको थापानिकट विश्लेषक गेजा शर्मा बताउँछन् ।

‘हालसम्म गगनजीले देउवासँग संघर्षभन्दा पनि इन्गेज भएर कन्भिन्स गर्ने उद्देश्य लिनुभएको थियो तर टिकट वितरणसम्मका घटनाक्रमको विश्लेषण गर्दा विगतका रणनीतिले परिणाम हासिल गर्न नसकेपछि दबाब र संघर्षको चरणमा प्रवेश गर्न खोजिएको देखिन्छ,’ शर्मा भन्छन्, ‘पार्टीमा रूपान्तरण, पुस्तान्तरण र सुधार नभए कांग्रेस र गगनजी, विश्वजीहरूको भविष्यमाथि नै प्रश्न उठ्ने भएकाले उहाँहरू निर्णायक पहल र संघर्ष गर्ने ठाउँमा आइपुग्नुभएको हो ।’

खासगरी तनहुँ–१ मा पार्टीले हार व्यहोर्नुपरेपछि महामन्त्री थापा र शर्मामाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ । विधानअनुसार सभापतिले गरिदिनुपर्ने काम नगरिदिँदा महामन्त्रीहरूको भूमिका देखिन सकेको छैन तर आमजनमानसमा महामन्त्रीले पनि केही गर्न नसकेको सन्देश जान थालेपछि त्यसबाट उनीहरू सबैभन्दा बढी चिन्तित छन् । पार्टीका विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्तिलगायतका अधिकार सभापतिलाई दिएको छ । विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभागसमेत गठन गरिएको छैन । सभापतिले विभाग गठन गरिदिएपछि मात्रै महामन्त्रीले त्यसलाई परिचालन गर्ने हो । ‘तपाईंले महामन्त्रीलाई गन्नुभएन, कुनै पनि सुझाव मान्नुभएन, अब तपाईंको असफलताको भारी हामी बोक्दैनौं, के गर्नुपर्छ गर्नुहोस्, हामीलाई केही मतलब छैन,’ पदाधिकारी बैठकमा थापाले चेतावनी दिएका थिए ।

अर्का महामन्त्री शर्माले तत्काल पार्टीमा आमूल परिवर्तन नभए महामन्त्रीबाट राजीनामा दिने चेतावनी दिएका थिए । ‘म तपाईंको टिमबाट महामन्त्री जितेको होइन । समग्र यो काम नहुनुको पछि अनुकूल महामन्त्री नभएर हो भन्ने तपाईंलाई लागेको छ भने म राजीनामा दिन तयार छु तर यस्तो तालले पार्टी चल्दैन । पार्टीमा आमूल सुधार हुनुपर्छ । त्यसका लागि म सांसद मात्रै भएर पनि भूमिका निर्वाह गर्न तयार छु,’ शर्माको भनाइ उद्धृत गर्दै अर्का एक पदाधिकारीले भने, ‘म मन्त्री हुन्न भनेकै छु । तपाईंले पार्टीलाई आमूल सुधारको बाटोमा नहिँडाउने हो भने महामन्त्रीबाटै राजीनामा दिन्छु । सांसदको हैसियतमा रहेर काम गर्छु ।’

यसो भनेपछि देउवा हच्केका थिए । त्यसको भोलिपल्टै दुवै महामन्त्रीलाई निवासमा बोलाएर उनले पार्टीभित्र गर्न बाँकी रहेका काम एक साताभित्रै गर्ने वचन दिएका छन् । संस्थापन पक्षमै रहेका नेताहरूसमेत देउवाको पछिल्लो कार्यशैलीप्रति सन्तुष्ट छैनन् । नयाँ र समावेशी आधारमा मन्त्री छनोट नगर्दा आमअसन्तुष्टि पार्टीप्रति नै चुलिएको भन्दै उनीहरूले समेत नेतृत्वको कार्यशैली नसच्चिए पार्टी सक्किने चेतावनी दिएका छन् । संस्थापनपक्षीय केन्द्रीय सदस्य श्याम घिमिरे नेतृत्वबाट नयाँलाई निषेध गर्ने काम भइरहेको बताए । ‘नयाँलाई निषेध गर्ने काम पार्टीबाट भयो । यसले चुनाव जितेर आउनेहरूलाई ऊर्जा दिँदैन । भइरहेकाले मात्रै अवसर पाउँदा नयाँ सांसदको परीक्षण पनि हुन पाएन,’ घिमिरेले भने, ‘कांग्रेसमा यतिबेला शल्यक्रिया नै गर्नुपर्ने भएको छ । तर, सामान्य मलमपट्टी लगाउने काम पनि नेतृत्वबाट हुने छाँट देखिएन ।’यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*