‘मिसन ग्रासरुट’बाट एमाले नेतृत्वलाई सुझाव : नेताबाटै बिग्रियो पार्टी, केन्द्रबाटै शुद्धीकरण
अभियानका करिब एक लाख सुझाव समीक्षा गर्दै पार्टीको भावी कार्यक्रम तय गर्न २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक
एमालेको तल्लो तहका नेता/कार्यकर्ताले पार्टी ‘केन्द्रका नेताबाटै बिग्रिएको र माथिबाटै शुद्धीकरण चाहिने’ सुझाव दिएका छन् । संगठन सुदृढीकरण र चुनावको तयारीका लागि चलाएको ‘मिसन ग्रासरुट’ अभियानमा ठूलो संख्यामा सुझाव आएका नेताहरूले बताएका छन् । फागुन पहिलो साताबाट थालिएको अभियान २३ वैशाखमा सकिँदै छ ।
अभियानका क्रममा करिब एक लाख सुझाव आउने र त्यसैका आधारमा पार्टीको भावी कार्यक्रम तय गर्ने एमालेको योजना छ । यसका लागि एमालेले २८–३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा बनेको नयाँ
समीकरणले सत्ता–राजनीतिबाट बाहिरिएलगत्तै एमालेले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा तीन सय ६० केन्द्रीय नेता जिल्ला–जिल्लामा परिचालन गर्ने गरी ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको थियो । तत्काल सत्तामा फर्कने बाटा बन्द भएपछि एमाले नेतृत्वको नजर र कोसिस बलियो संगठन र सम्भावित मध्यावधि निर्वाचनको तयारीतिर छ । तर, उपनिर्वाचन परिणामले एमालेलाई झस्काएको छ । मंसिरको निर्वाचनमा एक्लै बहुमत ल्याउने एमालेको मिसन भने फेल भएको थियो । ओलीको प्रस्तावमा १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड अन्ततः पुरानै गठबन्धनतिर फर्किँदा ६३ दिन सरकारमा बसेर एमाले बाहिरिएको थियो ।
कम्युनिस्ट पार्टी स्थापना दिवस २२ अप्रिल (९ वैशाख)मा समापनको लक्ष्य राखेर सुरु गरिएको तीनमहिने अभियानमार्फत एमालेले जिल्ला हुँदै वडा तहसम्मको संगठन बलियो बनाएर अहिल्यैदेखि अर्को निर्वाचनको तयारी थालेको हो ।एमाले नेताहरूले अभियानलाई ०७५ मा पार्टी एकता र नेकपा एकीकरण भंगसँगै भद्रगोल र अराजक बनेको संगठनलाई पुनव्र्यवस्थापन गर्ने, पार्टीलाई पुरानै लयमा फर्काएर बलियो बनाउने र त्यसकै जगमा अर्को चुनावको तयारीमा लागेको बताउँदै आएका छन् । १७ चैतमा कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेलले एमाले मिसन ग्रासरुटमार्फत अर्को चुनावको तयारीमा केन्द्रित भएको बताएका थिए ।
‘अहिले म तिथिमितितिर जान्नँ । यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,’ उनको भनाइ थियो, ‘हामी अहिले आउने चुनावमा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा लागेका छौँ ।’
उपमहासचिव विष्णु रिमालले अभियानअन्तर्गतका कार्यक्रम सम्पन्न भएर प्रदेशहरूमा रिपोर्टिङसहित अहिले अभियान समापन चलिरहेको बताए । कर्णाली, लुम्बिनी र सुदूरपश्चिमपछि १३ वैशाखमा गण्डकी, १५ वैशाखमा मधेस, १७ वैशाखमा कोसी, २१ वैशाखमा बागमतीमा प्रदेशस्तरीय रिपोर्टिङपछि २३ वैशाखमा औपचारिक रूपमा अभियान सकिने उनले बताए । अभियान सकिएलगत्तै समीक्षा र सुझावका आधारमा आगामी कार्यक्रम तय गर्ने गरी केन्द्रीय कमिटी बैठक आयोजना गर्ने एमालेको तयारी छ ।
एक लाख सुझाव, ७५३ पालिकाको समस्या पहिचान
एमाले उपमहासचिव रिमालका अनुसार सात सय ५३ वटा पालिकाबाट कार्यकर्ता र जनताको तहबाट करिब एक लाख सुझाव आउने र त्यसलाई आधार मानेर पार्टीले भावी दिनमा कार्यक्रम तय गर्ने बताए । उनका अनुसार पालिकास्तरमा पाँचवटा मुख्य समस्याको पहिचान गरिने र त्यसमध्ये पनि प्राथमिकताका आधारमा समस्या पहिचान गरिएका छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य, किसानको समस्या र सेवा प्रवाह सुशासनसँग सम्बन्धित समस्याबारे हरेक पालिकामा जनताबाट सुझाव लिइएको छ ।
त्यस्तै, स्थानीय बुद्धिजीवीहरूसँग बेग्लै भेटघाट र अन्तत्र्रिmया गरेर कम्तीमा त्यस क्षेत्रको तीनवटा सुझाव लिन केन्द्रीय सदस्यलाई निर्देशन दिइएको छ । यसरी आएका करिब एक लाख सुझावलाई ध्यानमा राखेर पार्टीले ०८० को वर्षका लागि कार्यक्रम बनाउने पनि रिमालले बताए ।
‘हामीले विपक्षमा बस्न जनादेश पाएका छौँ, त्यसैले यसबीचमा जनतासँग टुटेको कडी जोड्ने, तल कार्यकर्ता र जनतामा पार्टीप्रति रहेको राम्रो गुनासो र कमी सुन्ने र सुधारेर जान्छौँ, आगामी दिनमा कस्तो कार्यक्रम बनाउने प्रक्रियागत काम गर्दै छौँ । उपमहासचिव रिमालले भने, ‘आन्तरिक कमजोरी पत्ता लगाएर संगठन सुदृढ गर्ने, जनसरोकारका प्रमुख विषय पहिचान गरेर उठान गर्दै अगाडि बढ्ने उद्देश्यले अभियान चलाएका छौँ ।’
अभियानमा खटिएका नेताहरूलाई केन्द्रीय कार्यालयले अभियान सुरु गर्नुअघि गर्नुपर्ने तयारीका काम, अभियानको सिलसिलामा गर्नुपर्ने काम, लिइनुपर्ने सुझावलगायतका समग्र विषयमा बुँदागत निर्देशन दिएको छ । अभियान सकेपछि सबै केन्द्रीय सदस्यले प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाउनेछन् ।
ग्रासरुटबाट सुझाव : नेताबाटै बिग्रियो पार्टी, केन्द्रबाटै चाहियो शुद्धीकरण
अभियान लिएर गाउँ पसेका नेतालाई एमाले कार्यकर्ताले केन्द्रीय तहमै शुद्धीकरण अभियान चलाउन सुझाव दिएका छन् । ग्रासरुटमा खटिएका नेताहरूका अनुसार केन्द्रीय कमिटी र त्यसभन्दा माथिका तहका नेतामा व्यक्तिवाद, महत्वाकांक्षा, अवसरवाद देखिएको, पार्टीमा गुटबन्दी झाँगिएको, नेताहरूले गुट बनाएर पार्टीलाई कमजोर बनाउने गरेको, नेताहरूकै कारण पार्टी विभाजित भएकाले पहिले केन्द्रीय तहबाट शुद्धीकरण अभियान चलाउनुपर्ने सुझाव आएको छ ।
सचिव रघुवीर महासेठले अभियानमा थुप्रै सुझाव आएको तथा कार्यकर्ता र मतदाताले शुद्धीकरण केन्द्रबाटै सुरु गर्नुपर्नेमा जोड दिएको बताए । ‘कार्यकर्ता तहबाट धेरै सुझाव आएका छन् । मूलतः हरेक वर्ष मिसन ग्रासरुटजस्ता अभियानलाई नियमित गर्नुपर्ने सुझाव छ । खासगरी शुद्धीकरण तल होइन, माथिबाट हुनुपर्छ भन्ने छ । केन्द्र र नेतृत्वमा देखिएको व्यक्तिवाद, महत्वाकांक्षाजस्ता कमजोरीमाथि सच्चिए तल स्वतः शुद्धीकरण हुँदै संगठन बलियो हुन्छ भन्ने सुझाव आएका छन्,’ उनले भने ।
उनका अनुसार जिल्ला तहमा समाधान नभएको कार्यकर्ता–कार्यकर्ता, पार्टी–जनप्रतिनिधिबीचको अन्तर्विरोध तत्काल प्रदेश वा केन्द्रले समाधान गर्नुपर्ने, कम्युनिस्ट पार्टीभित्र सक्रिय राजनीतिका लागि ७० वर्षको उमेरहद हटाउनुपर्ने, अध्यक्ष वा पदाधिकारी तहको एउटै पदमा दुई पटकभन्दा बढी दोहोरिन नमिल्ने व्यवस्था गर्नुपर्छ भन्ने सुझाव आएका छन् ।
ग्रासरुटमा खटिएका थुप्रै नेताले पार्टीले टोलसम्म राजनीतिक प्रशिक्षणसहित संगठन पुनव्र्यवस्थित गर्ने अभियान चलाए पनि माथिबाटै शुद्धीकरण भएको अवस्थामा मात्र पार्टी बलियो बन्ने सुझाव आएको उनले बताए । ‘समस्या तल (कार्यकर्तामा) होइन, माथि (नेतामा) छ, समाधानका लागि मिसन ग्रासरुट होइन, अब टपरुट अभियान पनि चाहिएको छ । पार्टी तलका कार्यकर्ता, मतदाता, जनताले बिगारेको होइन, नेताले बिगारेको हो । हामीमा कुनै समस्या छैन, हामीले सधैँ पार्टीलाई साथ दिएकै छौँ भन्ने सुझाव आएका छन्,’ अभियानमा खटिएका एक नेताले भने ।
अभियानमा पाल्पा खटिएका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले आफ्नो क्षेत्रमा मूलतः पाँचवटा सुझाव आएको बताए । ‘ठूला र भद्दा कमिटीलाई चुस्त बनाएर कमिटी प्रणालीलाई जवाफदेही बनाउनुपर्छ । भुइँ तहका कार्यकर्ताले धेरै दुःख गरेर पार्टी बनाउने, पार्टी बचाउने, तर माथिका नेताले गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाउने गतिविधि रोक्नुपर्छ भन्ने गुनासोका रूपमा आएको छ । पार्टीमा व्यापक राजनीतिक र विचारधारात्मक प्रशिक्षण आवश्यक छ । पालिका कमिटीलाई संगठक कमिटीका रूपमा विकास गर्ने गरी कार्यशाला गर्नुपर्छ भन्ने छ,’ उनले भने ।
अभियानका गुल्मी प्रतिनिधि ठाकुर गैरेले जनसंघर्षलगायतका काम अगाडि बढाउनुपर्ने सुझाव आएको बताए । ‘पार्टीका तलका कमिटीहरू नियमित, व्यवस्थित र संस्थागत छैनन्, विधानसम्मत छैनन् । बैठकहरू नियमित बस्दैनन्, असंगति छ । लामो समयदेखि पार्टीको आन्तरिक जीवनमा सैद्धान्तिक र वैचारिक काम ठप्प हुँदा पार्टीपंक्तिमा अलमल छ,’ आएका सुझाव उनले सुनाए, ‘जनताको एजेन्डामा केन्द्रित भएर जनसंघर्षको काम अगाडि बढेको छैन । संगठन संस्थागत छैन । जसले गर्दा नीतिका हिसाबले अब के गर्ने अलमल छ, त्यसमाथि गुटबन्दी छ । ग्रासरुट अभियानमा यी सबै पक्ष सुधार्नुपर्ने कार्यकर्ता र मतदाताबाट सुझाव आएका छन् ।’
कञ्चनपुर प्रतिनिधि झपट रावलले अभियानमा राजनीतिक र सांगठनिक कामलाई प्राथमिकताका साथ निरन्तर चलाउनुपर्ने सुझाव आएको बताए । ‘नेता–कार्यकर्तामा सामूहिक भावनामा कमी देखिएको छ । परिभाषित काम नगर्ने, अवसर र पद प्राप्तिका लागि मरिहत्ते गर्ने, नेताहरूको परिक्रमा गरेर पद हत्याउने, जनसंगठन सामुदायिक मुद्दाबाट अलग हुने, तर संसदीय अवसरवाद हावी हुँदा गैरसंसदीय फाँटको काम कमजोर बनेको अनुभूति भएको छ ।
दक्षिणपन्थी अवसरवादका कारण चुनावमा घात–अन्तर्घात बढेको, पार्टी उद्देश्यअनुसार नचलेको स्थिति देखिएको छ,’ उनले भने, ‘ अभियानमा राजनीतिक र सांगठनिक कामलाई प्राथमिकताका साथ निरन्तर चलाउनुपर्ने सुझाव आएको छ । कार्यकर्ताको उचित मूल्यांकनसहित क्रमबद्ध नेतृत्व विकास हुनुपर्ने सुझाव आएको छ । एमालेप्रति जनताको विश्वास र भरोसा भने उस्तै रहेकाले मिहिनेतका साथ अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव छ ।’
जुम्ला प्रतिनिधि विष्णु रिजालका अनुसार अध्ययन–प्रशिक्षण अभियानकै रूपमा चलाउनुपर्ने सुझाव आएका छन् । ‘मिसन ग्रासरुट अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छ । यस्तो अभियान चलाइरहनुपर्यो, नेताको कार्यकर्तासँग र कार्यकर्ताको जनतासँग दूरी बढेको छ । यस्तो अभियानमार्फत हटाउनुपर्छ । लामो समयदेखि सैद्धान्तिक–वैचारिक काम भएकै छैन, कार्यकर्ताको बुझाइको स्तर न्यून छ । अध्ययन–प्रशिक्षण बढाउनुपर्छ भन्नेजस्ता थुप्रै सुझाव आएको छ,’ उनले भने ।
दोलखा प्रतिनिधि सुवास देवकोटाले केन्द्रीय र जिल्ला नेतृत्वप्रति ग्रासरुटमा गुनासो रहेको तथा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्ताजगी गर्नुपर्ने सुझाव आएको बताए । ‘कार्यकर्ताले विशेषतः केन्द्रीय नेतृत्व र जिल्ला नेतृत्वप्रति गुनासा र सुझाव राखेका छन् । अभियानमा पार्टीका संरचनाहरूमा रहेका कमजोरी कार्यकर्ताले खुलेर राखेका छन्,’ उनले भने, ‘नयाँ शक्तिको चुनौती पनि सामना गर्ने गरी पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्ताजगी गर्दै अगाडि बढाउनुपर्ने सुझाव छ । एमालेविरुद्ध भविष्यमा गठबन्धन बन्दा पनि त्यसलाई सामना गर्ने गरी बलियो बनाउन राजनीतिक र सांगठनिक रूपमा व्यवस्थिति गर्नुपर्ने सुझाव आएको छ ।’
ओलीको कमान्डमा ३६० नेता परिचालित
एमालेको अभियानमा अध्यक्ष ओलीको नेतृत्वमा तीन सय ६० केन्द्रीय नेता खटिएका छन् । सबै केन्द्रीय नेताले आफ्नो जिल्लाभन्दा फरक भूगोल अर्थात् नयाँ ठाउँमा खटिएर अभियानको रिपोर्ट केन्द्रमा बुझाउँदै छन् । त्यस्तै, नौ प्रदेश कमिटी, ८१ जिल्ला कमिटी र २३ जनवर्गीय संगठनको केन्द्रीय नेतृत्व पनि अभियानमा सहभागी छन् ।
पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य पालिका प्रतिनिधिका रूपमा खटिएका छन् भने अध्यक्ष ओलीसहित ४२ जना स्थायी समिति सदस्यले सबै प्रदेश र जिल्लाको कामको संयोजन र अनुगमनको काम गरिरहेका छन् । देशैभरि खटिएका पार्टीका उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको काममा सहजीकरण गर्नका लागि केन्द्रीय कार्यालय पनि गठन गरिएको छ । महासचिव शंकर पोखरेलको संयोजकत्वमा गठित उक्त कार्यालयमा तीनजना उपमहासचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल र कार्यालय सचिव डा. भीष्म अधिकारी छन् ।
११ लाख पार्टी सदस्यको शुद्धीकरण
अभियानमार्फत पार्टी सदस्यता शुद्धीकरण गर्दै नयाँ पुस्तालाई सदस्यता वितरण गर्ने एमालेको उद्देश्य छ । अभियानको क्रममा स्वयं उपस्थित भएर सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिनेहरूको मात्र अभिलेखलाई आधिकारिक पार्टी सदस्य मान्ने एमालेले जनाएको छ । महाधिवेशनमा प्रतिनिधिको संख्या बढाउन जिल्लाहरूले नक्कली सदस्य संख्या बनाएको आकलनसहित एमाले केन्द्रीय कार्यालयले शुद्धीकरणमार्फत आठदेखि नौ लाख मात्र सदस्यता कायम हुने प्रारम्भिक प्रक्षेपण गरेको छ । एमालेले अहिले ११ लाख पार्टी सदस्य रहेको बताउँदै आएको छ ।
के हो मिसन ग्रासरुट ?
२६ माघको केन्द्रीय सचिवालयको बैठकले निर्णय गरेर सुरु गरेको अभियानलाई एमालेले ६ वर्षयताकै ठूलो अभियानको रूपमा महत्वका साथ सञ्चालन गरेको छ । ०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट करिब दुईतिहाइ बहुमतसहित ठूलो सफलता प्राप्त भए पनि नेकपा तीन समूहमा विभाजित हुँदा पुगेको क्षति ०७९ को आमनिर्वाचनले देखाएको छ ।
केन्द्रीय तहमा माओवादी केन्द्रसँग एकता भए पनि ग्रासरुट तहमा एकीकरण प्रक्रियाले लय नसमात्दा पाँच वर्षको बीचमा भद्रगोल बनेको संगठनलाई पूर्वअवस्थामै फर्काउन तथा जनता र कार्यकर्ता तहसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्दै अभियानका क्रममा सुझाव लिइएको छ । आगामी दिनका कार्यक्रम तय गर्दै लगातार अभियान चलाउने, पार्टीभित्र हुर्किएको दक्षिणपन्थी अवसरवाद परास्त गर्ने उद्देश्यले अभियान चलाइएको उपमहासचिव विष्णु रिमालको भनाइ छ ।
पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहमा पार्टी सदस्यहरूको वास्तविक तथ्यांक लिने, उनीहरूको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र वास्तविक जानकारी लिने उद्देश्य एमालेले राखेको छ । एमालेले मिसन ग्रासरुट अभियानलाई मूलतः पालिका हुँदै ६ हजार सात सय ४३ वटा वडा र टोलहरूमा केन्द्रित गरेको थियो ।
ग्रासरुट अभियान निर्देशिकाअनुसार आधारभूत पंक्तिलाई पार्टीका आाधारभूत सिद्धान्तबारे प्रशिक्षित गरेको छ । त्यसैगरी, स्थानीय तहमा व्याप्त अन्तर्विरोधको हल गर्ने उपायसहितको सिफारिस पालिकास्तरमा खट्ने केन्द्रीय सदस्यहरूले बुझाउनुपर्ने निर्देशन दिइएको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।



















