विद्यार्थीको चाप थेग्न नसकेर ताप्लेजुङको भानुजन माविले रोक्यो भर्ना अभियान

ताप्लेजुङ । ताप्लेजुङका केही सामुदायिक विद्यालयले स्थानीय रेडियोमा विज्ञान बजाएर तथा घरघरमा गएर आफ्ना छोराछोरी पढाउन अभिभावकलाई अनुरोध गरिरहेका वेला भानुजन माध्यमिक विद्यालयले ११ दिनमै नयाँ विद्यार्थी भर्ना अभियान बन्द गरेको छ । विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले भर्ना नै बन्द गरेको हो । विद्यालयले प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर उत्तीर्ण भएपछि मात्र नयाँ विद्यार्थीलाई भर्ना लिने गरेको छ ।
नयाँ शैक्षिक सत्रका लागि १ वैशाखदेखि भर्ना लिन थालिए पनि १५ दिनमै भर्ना अभियान बन्द गरिएको हो । १५ वैशाखसम्म दुईपटक प्रवेश परीक्षा लिएर भर्ना अभियान बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिए । ४ र १५ वैशाखमा लिइएको प्रवेश परीक्षामा चार सय विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये तीन सयजना प्रवेश परीक्षा उत्तीर्ण भएको राईले बताए । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । अहिले कक्षा १० बाट एक सय ५० र कक्षा १२ बाट दुई सयजना निस्किएका छन् । तर, कक्षा ११ मा करिब पाँच सय विद्यार्थी पुनः थपिने अनुमान गरिएको छ । विद्यालयबाट तीन सय ५० जना बाहिरिँदा करिब आठ सयजना प्रवेश गर्ने गरेका छन् ।
समयअघि नै किन भर्ना अभियान बन्द गरिएको भन्ने प्रश्नमा प्रधानाध्यापक राईले शिक्षकको अभावका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकेको जानकारी दिए । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले शिक्षक र भौतिक संरचनाको ग्यारेन्टी गरे धेरै विद्यार्थी भर्ना लिन सकिने उनले बताए ।
भानुजन माध्यमिक विद्यालयको भौतिक संरचना, राजधानीमा रहेको सुविधासम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । भानुजन माविमा सुविधासम्पन्न भवन निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित भएका कारण पनि विद्यार्थीहरूको हब भानुजन मावि बनेको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना भएको छ ।
कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, संगीत र व्यवस्थापन विषयको पठनपाठन हुने गरेका कारण पनि विद्यार्थीमा आकर्षण देखिएको छ । विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्मै पढाइ हुने गरेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।