घरको छाना फेर्न पनि एसएसबीको अनुमति

वेलकम खबर
बैशाख १६, २०८०

इलाम । सूर्योदय नगरपालिका–२ हिलेका धनबहादुर राईको घरको छानो चुहियो । मर्मत गर्न खोज्दै थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले दिएन । दसगजा नछोइकन आफ्नै बारीमा खानेपानीको सार्वजनिक ट्यांकी बनाउनसमेत एसएसबीले नदिएको उनको भनाइ छ ।

‘आफ्नै जग्गामा चर्पी बनाउन, चुहिएको छानो मर्मत गर्नसमेत एसएसबीले दिँदैन हामीलाई साँच्चैको दुःख छ,’ उनले भने ।

सीमामा एसएसबीले बेस क्याम्प राखेर बसेपछि पहिले नै बनाएर बसेकालाई मर्मतसमेत गर्न नदिएको उनको भनाइ छ । एसएसबीले आफ्नो सिमाना भनेर गाडेको खम्बादेखि नेपालपट्टिका घरका छाना चुहिँदा छानो फेर्नसम्म रोक लगाइरहेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

एसएसबीले बसिरहेको घर भत्काउन पटकपटक दबाब दिएकाले कुनबेला के हुने हो सन्त्रास भएको स्थानीयको गुनासो छ ।

आपूmले नेपाल सरकारलाई राजस्व तिरेर बसेको तर पटकपटक सरकारलाई गुनासो राख्दासमेत समाधान हुन नसकेको बताउँछन् । २००७ सालतिर नोपलको भन्सार रहेको भूमि पनि अहिले एसएसबीले आफ्नो भन्ने गरेको स्थानीयकोे भनाइ छ ।

सूर्योदय नगरपालिका–२, हिलेमा एक वर्षअघि एसएसबीले वास्तविक सीमाभन्दा नेपालतिरको भूभाग नै मिचेर खम्बा गाड्यो । त्यसबेला त्यहाँका स्थानीयले प्रतिकार गरेरै सीमा मिच्न रोकेका थिए । जबर्जस्ती सीमा सार्दै गर्दा स्थानीयले प्रतिकार गरेपश्चात् दुवै टिमको छलफलपछि एसएसबी पछि हट्यो । केही वर्षअघि वास्तविक सीमाभन्दा करिब २० मिटर वर गाढिएको खम्बा अहिले पनि त्यहीँ छ ।

२०६४ सालको संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतले सीमा क्षेत्रको तीन÷तीन किलोमिटरमा एसएसबीको बेस क्याम्प राखेको थियो । ती क्याम्पलाई भारतले अहिलेसम्म निरन्तरता दिएको छ । ती क्याम्प राखिएपछि एसएसबीले सीमास्तम्भ नै दसगजाभन्दा नेपालपट्टिको भू–भागतिर सार्ने गरेको दिलबहादुर बताउँछन् ।

‘गत वर्ष एसएसबीले नेपालपट्टि छिरेरै खम्बा गाड्न खोज्दा यहाँका महिलाले प्रतिकार गरेका थिए,’ उनी भन्छन्, ‘हामी चुप बसेका थियौं भने यतिबेला यो क्षेत्रको धेरै भू–भाग भारततिर परिसक्थ्यो ।’

‘एसएसबीले एक वर्षअघि पुसमा रातको समयमा खम्बा गाढ्ने प्रयास ग¥यो । भारतीय पक्षले दसगजामा एकलौटी रूपमा खम्बा गाड्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हट्यो,’ स्थानीय कमला सुब्बा शेर्पाले भनिन्, ‘सीमा मिच्न खोज्दा हामीले प्रतिकार गरेका थियौं, पोहोर एसएसबीले राति आएर नेपाली भू–भागमा खम्बा गाढ्दा महिलाले नै लखेटेका थियौं, उनीहरूले गाढेको खम्बा उखेलेर फालिदिएका थियौं,’ उनले भनिन् ।

हिले मात्र होइन, पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दसगजामा छ । त्यसको नजिकै भारतले गुम्बा बनाएको छ । सन्दकपुरमा घर बनाउनसमेत हस्तक्षेप गर्ने गरेको छ । कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभन्ज्याङ, छब्बिसे, फाटकलगायतका ठाउँमा पनि दसगजा अतिक्रमित छ, जसमध्ये भारतले दसगजाको धेरै स्थानमा पक्की सडक नै बनाइसकेको छ भने हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दसगजामा एसएसबी क्याम्प नै छन् ।

सिमानामा पर्ने दसगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेको तथ्यांक छ । मानेभन्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन् । मानेभन्ज्याङको मानेडाँडामा नेपालतर्फबाट २, सिमानामा भारतपट्टि ४, नेपालपट्टि २ तथा पशुपतिनगरमा दुवैतर्फ एक÷एक घर बनेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*