लुम्बिनी र गण्डकी प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री ?

वेलकम खबर
बैशाख १४, २०८०

काठमाडौं। लुम्बिनी र गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ। लुम्बिनीका विपक्षी दलले आज नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका छन्। प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेका हुन्।

नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेश सभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार बनाउन दाबी पेश गरेका गिरीले आफूलाई मुख्मन्त्री नियुक्त नगरिए अदालत जाने चेतावनी दिएका छन्।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका २९ ,नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १–१, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन्। एमाले र राप्रपाबाहेक ८ दलका ५३ सांसद एक ठाँउमा उभिएका छन्।

गण्डकी प्रदेशमा पनि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आहृवान गरेपछि नेपाली कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो। वैशाख ९ गते एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि गण्डकी सरकार ढलेको थियो। ​

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*