कोशी प्रदेश सरकार परिवर्तनका लागि काठमाडौँमा गृहकार्य, बजेट अघि नछाड्ने माओवादी संकेत
विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका लागि सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौँ केन्द्रित भएका छन् । उपनिर्वाचनपछि सरकार परिवर्तन गर्न भन्दै दलका नेता काठमाडौँ केन्द्रीत भएका हुन् ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन) सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिएको छ । एमालेले नेतृत्व गरेको गण्डकी र लुम्बिनी प्रदेश सरकार पनि ढलेको छ ।
ओवादीले साथ दिएका कारण कोशीमा एमाले नेतृत्वको सरकार परिवर्तन भएको छैन । तर माओवादी केन्द्रलाई तत्काल सरकार छाड्ने दबाब छ ।
हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादीका दुर्गाप्रसाद चापागाई भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटनमन्त्री छन् । बजेट ल्याउने समय नजिकिँदा पनि माओवादी सरकार बाहिरिने छाँट नदेखाएपछि कांग्रेस र एकीकृत समाजवादी असन्तुष्ट छन् ।
माओवादीले समर्थन फिर्ता लिए नयाँ सरकार गठनको गृहकार्य गर्न सहज हुने दुबै दलको बुझाइ छ । तर माओवादी सरकार गठनको विकल्प तयार भएपछि मात्रै बाहिरिने पक्षमा छ ।
कांग्रेस प्रदेशसभा सदस्य केदार कार्की नयाँ गठबन्धन अनुसार माओवादी केन्द्र अगाडि बढ्नु पर्ने बताउँछन् । बजेट ल्याउनु अगाडि नै नयाँ सरकार बनाउनुपर्ने भन्दै उनले माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरिरहेको बताए । तर माओवादी केन्द्रले सरकार छाड्ने संकेत देखाएको छैन । किनकी प्रदेशमा सरकार परिवर्तन सहज छैन ।
९३ सदस्यीय प्रदेशसामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलको मत ४६ पुग्छ । कांग्रेस (२९), माओवादी केन्द्र (सभामुखबाहेक) १२, एकीकृत समाजवादी पार्टी (४) र जनता समाजवादी पार्टी (१) सँग पनि ४६ मत नै छ ।
त्यसैले माओवादी केन्द्रका सांसदहरु बजेट निर्माणपछि मात्रै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छन् । तत्काल सरकार छाड्दा नयाँ सरकार बन्ने सुनिश्चित नभएकाले बजेट निर्माणबाट अलग नहुने माओवादीको मनस्थिति छ ।
बजेट घोषणाको समय पनि नजिकिदैछ, अहिले सरकार परिवर्तन गर्दा गलत सन्देश जान्छ,’ माओवादी केन्द्रका एक प्रदेशसभा सदस्य भन्छन्, ‘यहीँ सरकारलाई बजेट ल्याउन दिएर सरकार परिवर्तन गर्न समय पर्याप्त हुन्छ ।’
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि प्रदेश सरकारबाट तत्काल नबाहिरिने बताउँछन् । ‘सरकार निर्माण बजेट अघि कि पछि भन्ने कुराले खास ठूलो अर्थ राख्दैन’, उनले भने, ‘प्रदेशको अवस्थाका बारेमा पार्टी नेतृत्वलाई जानकारी गराएका छौं । सरकारको विषयमा केन्द्रबाटै निर्णय हुन्छ ।’
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका संसदीय दलका नेताहरुले केही दिनअघि शीर्ष नेतालाई भेटेर प्रदेश सरकार निर्माणबारे छलफल गरेका थिए । शीर्ष नेताले सल्लाह गरेर निर्णय गर्ने आश्वासन दिएका थिए ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा सरकारका विषयमा २–४ दिनमा निर्णय हुने बताउँछन् । वर्तमान सरकारलाई बजेट ल्याउन दिने कि नयाँ सरकार गठन गर्ने भन्ने विषय सत्ता गठबन्धनका शीर्ष नेताले टुङ्गो लगाउने उनले बताए ।koshionline



















