हिमाली क्षेत्रमा मौसमी असर

पाङपेमा बेसक्याम्प जान हिाडेकाहरू लोनाक पुगेपछि हावाहुरीसागै बाक्लो हिमपात भएपछि योजना बदलेर घुन्सातिर फर्किन बाध्य
वेलकम खबर
बैशाख १२, २०८०

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साका छिरिङ शेर्पाले शनिबार बेलुका पाहुना सुताउन अन्तै लानु पर्‍यो । होटलमा आएका पाहुनालाई खानापछि सुताउन चाहिँ भाइ, भतिजालगायत आफन्तकामा पुर्‍याए । आज कति पाहुना आउँछन् र कसरी व्यवस्थापन गर्ने भनेर पूर्वतयारीमा रहने उनीजस्ता हरेक जसोको यतिबेला तालिका बदलिइरहेको छ । कारण हो, एक साता यता मौसममा आएको परिवर्तन ।

यतिखेर ताप्लेजुङको कञ्चनजंघा क्षेत्र पर्यटकले भरिभराउ छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको टोली साउथ बेसक्याम्पतर्फ केन्द्रित छ भने पैदल यात्रीको टोलीले नर्थ र साउथ दुवै बेसक्याम्पको फन्को लगाइरहेको छ । सामान्यतया पैदलयात्री सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक हुँदै घुन्सा पुग्छन् । घुन्साबाट खम्वाछेन, लोनाक भएर पाङपेमा बेसक्याम्प जान्छन् र फेरि घुन्सा फर्कन्छन् । पाङपेमा ५ हजार १ सय ४० मिटर उचाइको बेसक्याम्प हो ।

कतिपय पाङपेमाबाट घुन्सा फर्किएपछि रामजेर, चेराम, ओक्ताङ, तोरेङदिन हुँदै याम्फुदिन निस्कन्छन् । ओक्ताङ कञ्चनजंघाको साउथ बेसक्याम्प हो । पैदलयात्रीले ४ हजार ७ सय ५० मिटर उचाइमा रहेको यही बेसक्याम्पबाट फोटो खिचेर फर्कन्छन् । यहाँबाट याम्फुदिन हुँदै सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक भएर मेची राजमार्गमा पर्ने पाँचथरको गणेशचोक पुगिन्छ । त्यहाँबाट झापाको भद्रपुर या त विराटनगर भएर काठमाडौंलगायतका गन्तव्यमा पुगिन्छ ।

एक सातायता दिनहुँ दिउँसो ३ बजेपछि हावाहुरी चल्ने, हिउँ, चट्याङ पर्ने जस्ता मौसमी गतिविधि भइरहेको छ । काठमाडौंबाट पाङपेमा बेसक्याम्प हिँडेका आलोक कोइरालाले भने, ‘हामी पाङपेमा बेसक्याम्प जान हिँडेका थियौं, लोनाक पुगेपछि हावाहुरी चल्यो, बाक्लो गरी हिउँ पर्‍यो र अगाडि जाने योजना बदलेर घुन्सातिर फर्किन बाध्य भयौं ।’ उनीहरू चार जनाको टोली लक्ष्यभन्दा एक दिनअघि घुन्सा फर्किएको छिरिङ बताउँछन् । मौसमले साथ नदिएपछि नर्थ र साउथ दुवैतर्फका पैदलयात्रीको तालिका बदलिइरहेको छिरिङले बताए ।

घुन्सादेखि माथिल्लो क्षेत्रमा टेलिफोन लाग्दैन र इन्टरनेट पनि चल्दैन । घुन्साका व्यवसायी धार्के शेर्पाका अनुसार मौसम कस्तो हुन्छ भनेर जल तथा मौसम विज्ञान विभागको काठमाडौं कार्यालयमा सोध्ने गरिन्छ । ‘इन्टरनेट चले मौसमी विवरण हेरेर पनि जानकारी लिन्छौं,’ धार्केले भने, ‘काठमाडौं मौसमको कार्यालयमा तीन दिनको मौसम कस्तो छ भनेर पनि सोध्ने गरेका छौं ।’

कतिपय बेला अचानक आइदिने परिवर्तनले समस्या गराउने गरेको उनले बताए । खम्बाचेनलगायतका कतिपय स्थानका व्यवसायीले भने कान्तिपुर एफएमलगायतका एफएम रेडियो सुनेर मौसमको जानकारी लिने गरेको बताए । ‘सामान्यतया बिहान चाँडै गरेर यात्रामा निस्कने र बेलुका २/३ बजेतिर गन्तव्यमा पुगिसक्ने तालिका हुन्छ,’ घुन्साका पर्यटन व्यवसायी टासी शेर्पाले भने, ‘यो सिजनमै हिउँ परिदिएपछि अगाडिको यात्रामा केही समस्या आएको छ ।’ कतिपयले यात्रा छोट्याउने र कतिपयले भने एक/दुई दिन बसेर पनि गन्तव्यमा पुग्ने गरेको उनले सुनाए ।

‘बिहान त राम्ररी घाम लाग्छ, मध्याह्नपछि चाहिँ पानी र हिउँ पर्दा केही समस्या भएको छ,’ उनले भने । कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन सहायकको जिम्मेवारीमा पनि रहेका उनले यो सिजनमा अहिलेसम्म १ सय ५० को हाराहारीमा मात्रै विदेशी पर्यटक आएको बताए । आरोहणका लागि भने चार दर्जन विदेशी र उनीहरूका पथपदर्शकलगायत सहयोगी छन् ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*