उषाकिरणले दिए मदन भण्डारी फाउण्डेशनबाट राजीनामा अध्यक्षको जिम्मेवारी पाण्डेलाई
काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले साविक अध्यक्ष उषाकिरण भण्डारीले दिनुभएको राजिनामा स्वकृत गर्ने निर्णय गरेको छ । बैठकले पूर्वपरराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई फाउण्डेसनको अध्यक्षको जिम्मेवारी दिएको छ । बैठकले मदन भण्डारी राष्ट्रिय पुरस्कार’लाई निरन्तरता दिने निर्णयसमेत गरेकाे छ ।
बैठकले फाउण्डेशनका साविक अध्यक्ष श्री उषाकिरण भण्डारीले अन्यत्र कार्यव्यस्तताका कारण अध्यक्षको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जानकारी गराउँदै जिम्मेवारी हेरफेर गर्न राख्नुभएको प्रस्ताव बैठकले स्वीकार गरेको छ ।
उहाँले अध्यक्षका रूपमा आजका मितिसम्म निर्वाह गर्नुभएको जिम्मेवारीका लागि धन्यवाद ज्ञापन गरिएको छ र फाउण्डेशनको सचिवालय सदस्यका रूपमा रहने गरी व्यवस्था मिलाइएको छ । रिक्त हुन आएको अध्यक्ष पदमा फाउण्डेशन सचिवालय सदस्य रहँदै आउनुभएका श्री महेन्द्रबहादुर पाण्डेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । श्री महेन्द्रबहादुर पाण्डे लामो समय प्राध्यापन पेशमा संलग्न रहनुभएको, नेपाली कम्युनिष्ट आन्दोलनका नेता समेत रहनुभएका पाण्डे विगतमा नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा विगतमा चीनका लागि नेपालका राजदुत रहिसक्नुभएको छ ।



















