खुट्टा अड्किएपछि २ घण्टा रुखमै

गाडीको ज्याकको सहायताले हाँगा फट्याएर झन्डै २ घण्टापछि उद्धार
वेलकम खबर
बैशाख १, २०८०

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका ३ खाम्लुङका ५४ वर्षीय हरि पोख्रेल बिहीबार दिउँसो रुखको हाँगा काट्न घरबाट निस्किए । विद्यालय छुट्टी भएकाले छोराछोरी र श्रीमती पनि सँगै गए । खेतको सिरानमा रहेको रुखका हाँगाले सेप बढेपछि खेतपट्टिको हाँगो झार्ने योजना थियो ।

बञ्चरो लिएर चढेका उनले दुईतिर हाँगा फिँजिएको रुखमा दाहिने खुट्टा दुई हाँगाको बीचको भागमा छिराए । देब्रे त्योभन्दा माथि राखे र बञ्चराले हाँगो काट्न थाले ।
निकै लामो प्रयासपछि उनले काटेको देव्रेपट्टिको हाँगो भुईंमा झर्‍यो । तर त्यो भागको लोड हटेपछि उनको दाहिने खुट्टा भने च्यापियो । असह्य पीडा हुनेगरी च्यापिएको खुट्टा बाहिर निकाल्न सक्ने अवस्थै भएन । श्रीमती र छोराछोरीले निकाल्न सक्ने उपाय भएन । त्यसपछि गाउँघरमा हारगुहार गरे दर्जन बढी व्यक्ति भेला भए पनि कसरी उद्धार गर्ने भन्ने समस्या भयो । खुट्टा च्यापिएको डेढ घण्टापछि स्थानीय हाइड्रोपावरको गाडी आयो । त्यसमा हाइड्रोपावरका आशिष केदेम थिए । उनीलगायतले एउटा उपाय निकाले । गाडी बिग्रँदा वा चक्का फेर्दा उचाल्न प्रयोग गर्ने ज्याक लगाउने र खुट्टो च्यापिएको दुई हाँगालाई फट्याउने ।
त्यसपछि उनीहरूले रुख र बाँसका घोचा लगाएर च्यापिएको ठाउँसम्म जाने बाटो बनाए । गाडीमा रहेको डोरीले बलियो गरी बाँधेर कसैले खाँवा थाम्ने र कोही ज्याक लिएर रुखमा चढे । त्यही ज्याकले दुइटा हाँगा फट्याएर हरिको उद्धार गरियो । करिब २ घण्टापछि उनको उद्धार भएको खाम्लुङका चन्द्र पौडेल बताउँछन् । ‘यदि त्यो गाडी नआएको भए थप समय लाग्नसक्थ्यो र रातभर पनि रुखैमा अड्किएर बस्नुपर्ने हुनसक्थ्यो,’ चन्द्रले भने, ‘धेरै मान्छे हुँदा र ठिक्क गाडी आउँदा ज्याकले केही हुन्छ कि भन्दै गर्दा उपाय निस्कियो ।
उद्धारपछि स्वास्थ्य चौकीमा हरिको उपचार भइरहेको आशिषले बताए । रुखबाट निकालेपछि त्यही गाडीमा उनलाई उपचारका लागि दोभान स्वास्थ्य चौकीमा ल्याइएको थियो ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*