२०७९ साल : नेतृत्वमा नयाँ अनुहार‚ चीनसँगको नाका नखुल्दा आयात-निर्यातमा समस्या

वेलकम खबर
बैशाख १, २०८०

सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लाले यो वर्ष पनि सरदर मूल्यमै चित्त बुझाउनुपर्‍यो सडक क्षेत्र बढाउने फुङलिङ नगरपालिकाको योजना ८० सालका लागि सर्‍यो

ताप्लेजुङ । २०७० को दशकलाई बिदा गरी ८० को दशकलाई स्वागत गरिरहँदा जिल्लामा यतिबेला अघिल्लो दशकको समीक्षा भइरहेको छ । ७० को दशकले चिल्ला गाडी चड्ने डेढ दर्जन पालिका प्रमुख जन्माए पनि उपलब्धि कति भयो भन्ने बहस पनि सुरु भएको छ ।
एक नगरपालिका र ८ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लाका नागरिकले पाँच वर्षको अन्तरालमा भएको निर्वाचनमा सबैजसो जनप्रतिनिधि परिवर्तन गरे । यसले दुर्गम तथा हिमाली क्षेत्रका नागरिक पनि तीव्र परिवर्तन चाहन्छन् भन्ने सन्देश दिएको पाथीभरा बहुमुखी क्याम्पसका पूर्वप्रमुख मोहन राई बताउँछन् ।

भौगोलिक हिसाबले नेपालको डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा भएको जनसंख्या टिकाउन र बढाउन सकेन । २०७८ को जनगणनाअनुसार एक दशकमा झन्डै ८ हजार जनसंख्या कम भयो । सुविधाको खोजीमा भइरहेको बसाइँसराइ, जन्मदरमा कमीजस्ता कारण १ लाख २० हजारमा सीमित भयो । २०६८ को जनगणनामा १ लाख २८ हजार रहेको थियो । निर्वाचन प्रक्रियामार्फत जनप्रतिनिधि चयन गरेपछि काम र परिणाम खोज्ने नागरिकको चाहना दोहोरियो ।

२०७४ सालमा १२ हजार ५ सय ९१ मतान्तरले प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद योगेशकुमार भट्टराई यो पटक २ सय ८ मतले निर्वाचित हुन पुगे । कोशी प्रदेशमा नयाँ अनुहारको रुपमा एमालेका तिलकुमार मेन्याङबो र कांग्रेसका खगेनसिंह हाङगामले बाजी मारे र मेन्याङ्बो खानेपानी तथा ऊर्जामन्त्री भए ।

फुङलिङ नगरपालिकाले निवर्तमान नगरप्रमुख एमालेका छत्रपति प्याकुरेललाई पराजित गर्दै कांग्रेसका अमिर मादेनलाई अनुमोदन गर्‍यो । फक्ताङलुङका निवर्तमान अध्यक्ष एमालेका सरोज एभेङ पराजित भए र माओवादीका राजल लिम्बू, आठराई त्रिवेणीमा कांग्रेसका विश्वनाथ सिटौला पराजित हुँदा एमालेका दीपेन्द्र पोमु र मैवाखोलामा एमालेका राजन थत्लुङ हार्दा माओवादीबाट विजय वनेम अनुमोदित भए । संघीय संरचनापछि ७४ र ७९ मा गरी १७ जनाले पालिकाको नेतृत्व पाए । झिनो मतले जितेका पाथीभरा याङवरकका केशर मेन्याङवोबाहेक दुई निर्वाचनमा सबै नयाँ अनुहार आए ।

चीन र भारत दुवै देशसँग सिमाना जोडिएको जिल्ला भए पनि ताप्लेजुङले सिमानाको उपयोग गर्न पाएन । चीनमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका अझै खुलेको छैन । नाका खुलाउन पालिका अध्यक्षदेखि प्रतिनिधिसभाका सांसदसम्मले हारगुहार गरेपछि सुनुवाइ भएको छैन ।

नेपालको सीमावर्ती क्षेत्र ओलाङचुङगोला, याङमा, घुन्सामा बनेका गलैचा निर्यात हुन सकेको छैन । वस्तु आयातरनिर्यात गर्न नपाउँदा चौरी याकलगायत पशुपालनमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने वार्षिक ७ हजार टनमध्ये २८ सय टन अलैंची उत्पादन गर्ने जिल्लाले अपेक्षाकृत मूल्य पाउन सकेको छैन ।

यही दशकको प्रारम्भमा १ लाख २० हजार प्रतिमन ९४० किलोको एक मन० पुगेको अलैंची दशकको अन्त्यमा ३५ हजारमा सीमित भएको छ । ३० हजारमाथिको मूल्य यो वर्ष गोदाम गर्न सक्ने किसानले मात्रै पाउन सके । अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीका अनुसार यो वर्ष एक दिन ३८ हजारसम्ममा कारोबार भयो । औसत मूल्य २८ हजारमा सीमित रहेको उनले बताए । तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजना सम्पन्न हुन सकेन । अझै एक वर्षपछि मात्रै निर्माण सम्पन्न हुने आयोजनाले स्थानीय र जिल्लावासीलाई सेयर निष्काशनसम्म गर्‍यो ।

वर्षको अन्तमा चिराइतो र कुचोले भने राम्रो मूल्य पाए । राम्रो मूल्यका लागि कहिले चीनको तिब्बत र कहिले भारतको पश्चिम बंगाल कुदाएका व्यापारीहरूले २०७९ सालमा धेरै दौडधुप गर्नुपरेन । झापाको बिर्तामोडमा चिराइतोले प्रतिकिलो एक हजार रुपैयाँ पाएको चिराइतो व्यापारी हरि मिश्र बताउँछन् ।

मेची राजमार्गलाई चौँडा बनाउने फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनको चाहना ८० को दशकका लागि सरेको छ । सडक साँघुरो भएकाले सडक दुर्घटना बढेको र सहरको सुन्दरता पनि नभएको भन्दै उनले ड्रेनसहितको १५ मिटरको सडक बनाउने योजना ल्याएका छन् । १५ मिटरभित्र जग्गा पर्ने उपभोक्ताले पुर्‍याएको अवरोधका कारण सडक चौँडाको योजना भने सफल भएको छैन ।

ekantipur

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु