ताप्लेजुङ फुङलिङका किसानलाई टनेल वितरण

वेलकम खबर
चैत्र ९, २०७९

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको छ । तरकारी उत्पादनमा वृद्धि गर्दै किसानको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले वडा कार्यालयले यहाँका ५० जना किसानलाई टनेल वितरण गरेको हो ।

उत्पादन भएको तरकारी बिक्रीका लागि बजार नजिकै भएको र यहाँका किसानलाई टनेल वितरण गर्दा राहत मिल्ने देखिएकाले उक्त कार्यक्रम बनाइएको वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले बताए। वितरण भएका टनेलको प्रयोग भए नभएको अनुगमन हुने उनको भनाइ छ ।
टनेल वितरण कार्यक्रममा नगरप्रमुख अमिर मादेनले टनेलको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । सरकारी बजेटबाट वितरण हुने कृषि औजार, टनेललगायत सामानको कतिपय ठाउँमा प्रयोग नहुने गरेको पाइएको भन्दै प्रयोग भए नभएको सम्बन्धमा अनुगमन हुने उनले बताए।
सदरमुकाम फुङलिङ बजार नजिकै रहेका किसानले टनेल पाएपछि खुसी व्यक्त गरेका छन् । सिजनमा तरकारी खेती गरेर नजिकै लाग्ने हाटबजारमा बेच्दै आएका उनीहरूले अब बेमौसमी तरकारी खेती गर्ने बताएका छन् विभिन्न प्राविधिक समस्या आइपरेमा नगरपालिकाको कृषि शाखामा समेत सम्पर्क गरेर सहयोग लिन सकिने नगरप्रमुख मादेनले बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु