प्रधानमन्त्रीलाई एमालेको प्रश्न : अर्को चोटी विश्वासको मत कहिले लिने ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताएका छन् । २६ पुसमा विश्वासको मत लिएका प्रधानमत्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उनले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन भनेर प्रश्न गरेका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले फेरि एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’
उनले अघि भने, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेण्डा छैन । क्षणक्षणमा विश्वासको मत । यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन ?’
‘तपाईलाई के कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’ उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’
उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।



















