आकर्षण घटेको खोल्साको सुन

वेलकम खबर
फाल्गुन २७, २०७९

नग्य आम्दानी लिएका पूर्वी पहाडका किसान अब घट्दो बजार मूल्य र बढ्दो रोगव्याधिका कारण बिस्तारै अलैंची खेती छाड्दै
अन्तर्राष्ट्रिय बजारमा राम्रो भाउ चल्दा नेपाली किसान र व्यवसायीका अलैंची गोदाम रित्तिइसकेका हुन्छन्, बढेको भाउ सुनेर किसान विस्मात् गर्छन्

पाँचथर । पहाडमा जहाँ अरू बाली हुँदैन त्यहाँ ‘खोल्साको सुन’ हुन्छ । खोल्साको सुन अर्थात् अलैंची । जब यसको खेतीको लहर सुरु भयो, हतारिएकाले मनग्य आम्दानी लिए । मुलुकका थुप्रै पहाडी जिल्लामा विस्तार हुँदै पश्चिमसम्म पुग्यो अलैंची खेती ।
करिब डेढ दशकसम्म राम्रो आम्दानी लिने पूर्वका पहाडी जिल्लाका किसानहरू अब बिस्तारै यो खेतीबाट विमुख हुँदै जान थालेका छन् । अरू अन्न नफल्ने भिरालो खोल्सा र पाखाभित्तामा पनि हुने अलैंची एक समय आम्दानीको भरपर्दो स्रोत थियो । रोगव्याधिको प्रकोपले खेती फस्टाउन त छाड्यो नै, अन्तर्राष्ट्रिय बजारमै मूल्यमा भइरहने उतारचढावले आम्दानीको आकर्षण घट्यो ।
पाखाभित्तामा अरू बाली छाडेर पनि अलैंची लगाउने लहर नै चलेको थियो । धेरै किसानले आफ्नो सबै जग्गामा लगाए । कतिपयले जग्गा भाडामा लिएर पनि खेती गरे । फस्टाउन छाड्नुलाई समाधानको बाटो खोज्न सकिन्थ्यो तर भाउ नै अपेक्षित हुन छाडेपछि भने किसानमा अलैंची मोह घट्यो । धान र मकै फल्ने उर्वर जमिन मासेर करिब ५० रोपनी जग्गामा अलैंची लगाएका पाँचथरको याङवरक गाउँपालिका–३ ओयामका वीरेन्द्र योङयालाई अहिले अलैंची खेती जारी नै राख्ने वा छाड्ने भन्ने दोधार छ ।
२०६० सालतिर अलैंचीको मूल्य बढ्न थालेपछि उनी यो खेतीमा आएका हुन् । तर, समय सधैं उस्तै रहेन । पछिल्लो समय बगानमा लाग्ने रोगकिराको प्रकोप हटाउन मिहिनेत र लगानी बढिरहेको थियो भनै, निरन्तर भाउ घट्न थालेपछि उनको विरक्ति बढ्न थालेको छ । ‘भाउ राम्रो आउँदा हौसिएर अलैंची लगाइयो । फल्न थालेपछि कहिल्यै सोचेजस्तो फाइदा भएन, अहिले त बोट पनि मर्न थालिसके,’ उनले भने । पछिल्लो समय अलैंचीको गानो कुहिने, बोट मर्ने र पातमा फुर्के रोग लाग्ने जस्तो समस्या देखिन थालेको उनले बताए ।
उस्तै–उस्तै कथा छ, पाँचथरको फालेलुङ–५ प्राङवुङका सोमनाथ रिजालको । २०५० को दशक अन्त्यतिर उनले धान, मकै र कोदो फल्ने ३० रोपनीभन्दा बढी जमिनमा अलैंची रोपेका थिए । एक समय भाउ प्रतिमन ९४० किलो० १ लाख पुगेको थियो, उनी हौसिए । घटेर ३० हजार रुपैयाँको हाराहारीमा आइपुगेपछि भने उनी निराश भए । अलैंचीको लगानीले दिएको घाटा सहन नसकेर उनी बगान सस्तो–सस्तोमै बेचेर २०७४ सालमा झापा बसाइ सरे । एकातिर रोगकिराले बगान क्रमशः मासिँदै जाने, अर्कातिर दुःख गरेर फलाएको अलैंचीको मूल्य घट्दै जान थालेपछि बसाइ सर्नुको विकल्प नभएको रिजालले बताए । उनी भन्छन्, ‘पहिले दुःखसुख धान–मकै फल्थ्यो, खेतबारी मासेर अलैंची रोपें । तर, लागत पनि नउठ्ने भएपछि खेती गर्न सकिएन ।’

परम्परागत खेती छाडेर अलैंची लगाउन थालेर निराश भएका धेरै किसानमध्ये योङया र रिजाल प्रतिनिधि हुन् । पाँचथर ताप्लेजुङ, इलाम, संखुवसभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा फल्ने अलैंची यतिबेला प्रतिमन ३७ हजार रुपैयाँमा किनबेच भइरहेको छ । गत वर्ष प्रतिमन ६० हजार रुपैयाँसम्म पुगेको थियो । जबकि २०६७ सालमा प्रतिमन १ लाख १ सय ६५ रुपैयाँ उक्लेको थियो । भाउमा आएको उतारचढाव र निरन्तरको रोगव्याधिको प्रकोपले अलैंची किसानलाई दोहोरो मर्कामा परेको छ ।
व्यवसायीहरूका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । पाँचथरका अगुवा अलैंची व्यवसायी दीपक नेपालका अनुसार ‘ग’ श्रेणीका अलैंची अहिले पूर्वका बजारमा ३६ हजार, मध्यम श्रेणी ‘ख’ को ३७ हजार र उत्कृष्ट ‘क’ श्रेणीको प्रतिमन ३८ हजारमा किनबेच भइरहेको छ । ठूलो दाना, राम्ररी सुकेको र धूवाँ नलगाई सुकाइएको अलैंचीलाई ‘क’ श्रेणीको मापदण्डमा राखिएको पनि उनले बताए ।
नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । पूर्वी नेपालमा उत्पादित अलैंची झापाको बिर्तामोडबाट भारत हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ । किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल भन्छन्, ‘किसानले आफ्नो अलैंचीको मूल्य आफैं तोक्न पाउँदैनन् । व्यापारीले जति भन्यो त्यतिमै बिक्री गर्नुपर्छ ।’ अलैंची जस्तै अदुवा र अम्रिसोजस्ता नगदे बालीको न्यूनतम समर्थन मूल्य नतोकिँदा किसानलाई सधैं मर्का पर्ने गरेको उनी बताउँछन् ।

अलैंची व्यवसायीहरू भने यस्ता नगदे बालीको मूल्य अन्तर्राष्ट्रिय बजारबाटै निर्धारण भएर आउने गरेकाले नेपाली उत्पादकको गुनासो समेट्न नसकिएको टिप्पणी गर्छन् । अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई भन्छन्, ‘भारत र बंगलादेशसहितका बजारमा माग बढे मूल्य बढ्ने र माग घटे मूल्य पनि घट्ने हुन्छ । पछिल्ला वर्ष सिक्किम र भुटानमा पर्याप्त मात्रामा ठूलो दाना भएका अलैंची उत्पादन हुन थालेकाले नेपाली अलैंचीले भाउ नपाएको हो ।’
वीरेन्द्र योङया पाँचथरकै अगुवा किसान हुन् । उनका अनुसार अलैंची उत्पादन हुने खास सिजन भदौ, असोज र कात्तिक महिना हो । मंसिर पहिलो साताभित्र सबै किसानले बगानबाट टिपेर प्रशोधनसहित भण्डारणको काम सक्छन् । ‘किसानसँगै रहुन्जेल मूल्य बढ्दैन, प्रायःले बेचिसकेपछि बढ्न थाल्छ । बढेको भाउ किसानले नभएर व्यापारीले मात्रै पाउँछन् किसानलाई सधैं घाटा हुन्छ,’ उनले भने । भदौदेखि माघसम्म स्थिर रहने मूल्य फागुनदेखि असार–साउनसम्म केही उकालो लाग्ने गरेको अनुभव उनले सुनाए । किसानले लामो समय भण्डारण गरेर राख्दैनन् । किसानबाट व्यापारीले हतारहतार खरिद गर्छन् । ‘भण्डारण गरेर राख्ने व्यवसायीले मात्र राम्रो प्रतिफल पाइरहेको देखिन्छ,’ उनले भने ।

अलैंचीको भाउमा देखिएको गिरावटको सोझो असर पूर्वी पहाडी जिल्लाका हजारौं किसानहरूको घरमा सोझै पर्ने गरेको देखिन्छ । अलैंचीको भाउ तलमाथि हुँदा पूर्वका सबैभन्दा बढी असर ताप्लेजुङ जिल्लामा परेको तथ्यांकले देखाउँछ । कृषि विभागको तथ्यांकअनुसार पूर्वमा अलैंची उत्पादन धेरै ताप्लेजुङमा हुन्छ । नेपाल अलैंची व्यवसायी महासंघका अनुसार पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, सोलखुम्बु, तेह्रथुम, धनकुटा, खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरको १२ हजार ७ सय ६३ हेक्टरमा अलैंची खेती छ । जसमध्ये सबैभन्दा धेरै अर्थात् ताप्लेजुङमा मात्रै ३ हजार ६ सय ४७ हेक्टरमा अलैंची छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिग्राम भट्टराईका अनुसार पहाडी जिल्लाका पूर्व र उत्तरी मोहडा भएको सेपिलो जग्गामा यो खेती फस्टाउँछ । मेचीका पहाडी जिल्लाको भूगोल अलैंची खेती सुहाउँदो छ । डिभिजन वन कार्यालय पाँचथरका सहायक वन अधिकृत कुमार फुयाल अलैंची खेती हुने ठाउँमा निबारो, कुटमिरो र उत्तीस आदिका ठूला रूख हुने बिरुवा रोप्न सकिने बताउँछन् । त्यसले भूक्षय तथा पहिरोको सम्भावित जोखिम कम गर्छ । तर, राम्रो भाउ आउन थालेको देखेर डालेघाँस र रूख हुने बिरुवा लगाउन छाडेर किसानबीच अलैंची लगाउने होडबाजी नै चलेको उनले बताए ।

कृषि विभागका अनुसार अहिले पूर्वका पहाडी जिल्लासँगै पश्चिमका लमजुङ, कास्की, दोलखा, काभ्रे, बागलुङ, अर्घाखाँची, सल्यान, जाजरकोट, धादिङसहित ४० जिल्लामा राम साई, गोलसाई, जिर्मले जातका अलैंची खेती भइरहेको छ । यसरी उत्पादित अलैंचीमध्ये ९८ प्रतिशत भारत हुँदै विभिन्न मुलुक पुग्छ । नेपालमा प्रशोधन र प्रयोग न्यून छ ।

कृषि विभागका अनुसार नेपालमा अलैंची वार्षिक सरदर ७ हजार टन फल्छ । अलैंची उत्पादनका मामिलामा विश्व बजारमा नेपालको बलियो उपस्थिति भए पनि सरकारी पहलका अभावमा किसानले सोझो फाइदा पाउन सकेका छैनन् ।

किसानले बगानका अलैंची असोज र कात्तिक महिनाभित्र टिपेर बिक्रीका लागि तयार गर्छन् । फिदिम–७ का किसान प्रताप तामाङका अनुसार मंसिर र पुस महिनाभित्र किसानले आफ्ना उत्पादन बिक्री गरिसकेका हुन्छन् । उनी भन्छन्, ‘यो सिजनमा जहिल्यै भाउ घटेर आउँछ । माघ दोस्रो सातादेखि क्रमशः मूल्य बढ्न थाल्छ, त्यो बेला धेरैजसोले आफ्ना उत्पादन बिक्री गरिसकेका हुन्छन् ।’ सिजन अफ भइसकेपछि बढेको मूल्य ठूलो परिमाणमा किनेर भण्डारण गरेका व्यवसायीका खल्तीमा पुग्ने उनले बताए । सरकारले अलैंचीसहित निर्यात हुने नगदे बालीको न्यूनतम समर्थन मूल्य तोकिदिए किसानलाई धेरै राहत हुने उनको तर्क छ ।

यद्यपि अलैंची व्यवसायी खेमनाथ अधिकारी भने माघ अन्तर्राष्ट्रिय बजारमै मूल्यमा उतारचढाव आउने गरेको दाबी गर्छन् । हरेक वर्ष पुसभित्र किसान र व्यापारीका गोदामका अलैंची निर्यात भइसक्छ । त्यसपछि भाउ बढेर आउँदा नेपाली व्यवसायीले अपेक्षित लाभ लिन नपाउने उनको अनुभव छ । धेरै स्टक राख्न नसकिने भएकाले व्यवसायीले खरिद गर्दै निर्यात गर्छन् ।
मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, अत्तर, औषधि आदि बनाउन र मदिरामा अलैंचीको प्रयोग हुने गरेको छ । नेपालमा भने सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि कम्पनीले अलैंची प्रयोग गरेर रक्तशोधक, शक्तिवर्धक, दम र खोकी आदिको औषधिमा अलैंची मिसाउने गर्छन् । झापाको बिर्तामोडमा निजी क्षेत्रबाट अलैंची प्रशोधनका लागि एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि स्थापना गरिएको छ । दुई वर्षअघि खुलेको उक्त कारखानामा अलैंचीको ग्रेडिङ गर्ने र मसाला बनाउने काम हुने अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् ।
कृषि वर्ष मनाउने क्रममा २०३२र३३ सालमा सरकारले नै अलैंचीका चार लाख बेर्ना बाँडेको थियो । २०३३ सालमा सरकारले नै इलामको फिक्कलमा अलैंची विकास केन्द्र स्थापना गर्‍यो । २०६० को दशकदेखि नेदरल्यान्ड विकास नियोग, मर्सिकोर नेपाल जस्ता अन्तर्राष्ट्रिय संघसस्थाले अलैंची कृषकलाई संगठित गर्दै आधुनिक खेती तथा प्रशोधनसम्बन्धी ज्ञान दिन थालेका हुन् ।
यसरी फैलिएको अलैंची विस्तारको यात्रा अहिले सबैभन्दा कठिन बिन्दुमा छ । अलैंची खेतीमा नयाँ कृषकहरू आउने क्रम रोकिँदै छ भने पुराना वैकल्पिक बाली खोज्न अग्रसर छन् । हाल अलैंची विकास केन्द्र फिक्कलले पाँचथर र इलामका विभिन्न स्थानमा बेर्ना उत्पादनका लागि अलैंची नर्सरी स्थापना गरिरहेको छ । संघीय र प्रदेश सरकारले कृषि ज्ञान केन्द्र र अलैंची जोनमार्फत कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै अलैंची किसान लक्षित कार्यक्रम सञ्चालन भए पनि कार्यक्रमहरूले पनि अलैंची खेतीमा देखिएका जोखिमहरूलाई निमिट्यान्न पार्न सकिरहेका छैनन् ।
२०६५ सालसम्म राम्ररी फस्टाएको अलैंची बालीमा त्यसपछि क्रमशः गानो कुहिने, पातमा छिर्का बस्ने र बोट मर्ने समस्या देखिन थालेको हो । यस्तो प्रकोपको उपचार कैयन् किसानले समयमा गर्नै पाएनन्, कतिपयले उपचारको विधि थाले पनि त्यसको असर अलैंचीको उत्पादनमा पर्न थालिहाल्यो । रोगले कतिसम्म गर्‍यो भने धेरै किसानको ठूलो क्षेत्रफलका अलैंचीका बोट सखाप भए । एक पटक रोगकिराले नष्ट भएको बगानमा पुनः बिरुवा फस्टाउन सकेन । मिक्लाजुङ–४ का किसान शुक्र राईका अनुसार एक पटक मासिएको बगानमा तत्काल नयाँ बिरुवा लगाउँदा बोट मर्ने समस्या देखियो । २०७० को दशकसम्म यो प्रकोपले पाँचथर र ताप्लेजुङ जिल्लाका आधाजसो बगान सखाप भएको किसान बताउँछन् ।
पाँचथरको फालेलुङ–६ का जनकलाल राईले २०५४ सालमा ३० रोपनीभन्दा बढी पाखोबारी मासेर अलैंची रोपे । रोपेको तीन वर्षपछि फल्न सुरु भयो । २०६५ सम्म बर्सेनि २० देखि २५ मनका दरले उत्पादन पनि भयो । तर, सधैं समय एकनास रहेन । उनले सुनाए, ‘कुनै बेला वर्षको १० लाखभन्दा बढी आम्दानी गरेको हुँ । डढुवा रोग लागेर बगान नै सखाप भयो । २५ मनसम्म फलेको बगानमा अहिले २ मन पुग्न मुस्किल छ । यो खेती गरौं कि छोडौं दोधारमा छु ।’ पुरानो बगानमा अहिले रोग सल्किन थालेको भन्दै उनले आफ्नै जस्तो समस्या धेरैको रहेको बताए ।
अलैंची किसान शुक्र राई सरकारले जिल्लाजिल्लामा कृषि ज्ञान केन्द्र र अलैंची जोन सञ्चालनमा ल्याए पनि विज्ञ प्राविधिक जनशक्ति अभावमा खेती सपार्न गाह्रो भएको अनुभव सुनाउँछन् । अलैंचीका बोटमा रोगकिरा लाग्दा उपचार सजिलो छैन । छुट्टै औषधि पनि नपाइने भएकाले किसान खेतीबाट पलायन हुनुको विकल्प नदेखिएको उनले बताए ।ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*